काठमाडौँ । एमाले नेता घनश्याम भुसालले आफूहरुका विरुद्ध अनर्गल प्रचार सुरु भएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत् उनले आफूहरु विरुद्ध समूह नै तयार गरे अनर्गल प्रचार गरिएको बताएका छन् । उनले लेखेका छन्–‘फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार सुरु भएको छ ।
हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ ।’ उनले पञ्चायतकालमा जस्तै अहिले पनि त्यस्तै झुण्डले अनर्गल प्रचार गरिरहेको बताएका छन् । ‘पञ्चायतकालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो ।
पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु,’ उनले लेखेका छन्, ‘आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ? धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन् ।’
पार्टी एकताका नाममा ओलीपक्षका नेताहरुसँग भएका संवादलाई लिएर आफ्नो समूह र सामाजिक सञ्जालमा उनको आलोचना भएपछि भुसालले प्रष्टिकरण दिएका हुन् ।
भुसालसहित गोकर्ण विष्ट, योगेश भट्टराई र सुरेन्द्र पाण्डे पछिल्लो समय ओलीपक्षका नेताहरुसँग अनौपचारिक संवादमा थिए ।