बुटवल-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाईरसको संक्रमणबाट जोगिन शतर्कता अपनाउन आह्वान गरेका छन्। प्रदेश ५ को प्रदेश सभा बैठकमा विशेष सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसको संक्रमण हुन नदिन प्रदेश सरकारको आग्रहअनुसार भीडभाड नगर्न, ठूला सभा समारोह र भेलाहरु नगर्न आह्वान गरे।
उनले प्रदेशबासीले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने भन्दै एकअर्काबीचको सम्पर्कबाट जोगिन आग्रह गरे।
'हामीहरु भेट भएपछि नमस्कार गर्ने, हात मिलाउने र अंगालो हाल्ने गर्नुपर्ने खालका कुरा छन्, उनले भने-हामीले हाम्रो आफ्नै मौलिकतामा फर्केर नमस्कार गरौं, संक्रमण हुनसक्ने क्रियाकलापबाट टाढै बसौं यसो गरेमा हामी जोगिन सक्छौ।'
उनले प्रदेश सरकारले कोरोना संक्रमणबाट जोगिन र संक्रमण देखिएमा त्यसका लागि प्रदेश सरकारले पूर्वतयारी गरेको बताए। उनले अस्पतालहरुमा आइसोलेशन कक्षहरु स्थापना गरेको बताए। 'नेपालमा कोरोनाको संक्रमण त्यसरी देखिएको छैन, उनले भने-यदि हामीकहाँ देखा पर्यो भने त्यसका लागि सबै तयारी हामीले गरेका छौं।'