काठमाडौं : ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोलखाबाट निर्वाचित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सांसद पार्वत गुरुङविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ।
नेकपा केन्द्रीय सदस्यसमेत रहेका गुरुङविरुद्ध काठमाडौं जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखामार्फत गत असोज ८ गते पक्राउ पूर्जीको म्याद तामेल गरेको हो। जिल्ला प्रहरी कार्यालय दोलखाका एक अधिकृतले जिल्ला अदालत काठमाडौंबाट प्राप्त भएको पक्राउ पूर्जीबारे सांसद गुरुङलाई जानकारी गराइएको बताए। ‘काठमाडौं जिल्ला अदालतबाट प्राप्त भएको पत्रबारे हामीले उहाँ (पार्वत गुरुङ) लाई जानकारी गराइसकेका छौँ’, ती अधिकृतले भने, ‘तर उहाँलाई पक्राउ गर्ने भन्दा पनि अदालतले उपस्थित गराउनु भनेको हो।’
काठमाडौं जिल्ला अदालतबाट जारी उक्त पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले इलाका प्रहरी कार्यालय सिंगटीमार्फत् गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयमंबहादुर खड्कालाई बुझाइएको ती अधिकृतले बताएका छन्।
आफूविरुद्ध जारी ३५ दिने पक्राउ पूर्जीबारे सांसद गुरुङ पनि जानकार रहेको प्रहरीले जनाएको छ। काठमाडौं जिल्ला अदालतले गत भदौमै पत्र पठाएर गुरुङलाई उपस्थित गराउन दोलखा प्रहरीलाई भनेको थियो। प्रहरीले गुरुङका नाममा पठाइएको पत्र तामेल गरिसकेको छ।
२०७४ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि काठमाडौंका गौशालामा भएको सांघातिक आक्रमणको घटनामा संलग्न भएको अभियोगमा सांसद गुरुङसहित ७ जनाविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको हो।