दाङ । नेकपा विप्लव समूहका २१ जना नेता र कार्यकर्तालाई प्रहरीले बैठकस्थलबाट पक्राउ गरेको छ । विप्लव समूहका मध्येपश्चिम कमाण्ड अर्थात् विप्लवका दाई वीरजंग चन्दसहित २१ जना नेता र कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुसँग विस्फोट सामग्री र हतियार पनि रहेको प्रहरीले जनाएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ४ बाट राति १ बजे विप्लव समूहका मध्येपश्चिम ईन्चार्ज वीरजंगसहित जिल्लाका नेता र कार्यकर्ता पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
दाङ प्रहरीका प्रवक्तासमेत रहेका डीएसपी विनोदविक्रम शाहले दिएको जानकारीअनुसार उनीहरुलाई जिल्ला सदरमुकाम लगिदैछ । उनले २१ जना पक्राउ परेको पुष्टि गर्दै अनुसन्धानपछि सबै कुरा सार्वजनिक गरिने जानकारी दिए ।
राजपुर जिल्ला सदरमुकामबाट करिब सय किलोमिटर टाढा रहेको छ । उनीहरुसँग कति हतियार र विस्फोटक पदार्थ थियो भन्ने प्रहरीले बताइसकेको छैन ।
पक्राउ परेका सबै राप्ती ब्यूरोका सदस्यहरु रहेको बताइएको छ । ब्यूरोको बैठक बसिरहेको बेला प्रहरीले घेरा हालेर उनीहरुलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । पक्राउ परेकामध्ये एकजना केन्द्रीय सदस्य पनि छन् । केसबहादुर बाठा ‘सुवास’, विप्लवका दाई चन्द्रबहादुर चन्द ‘वीरजंग’सहितका पक्राउ परेको प्रहरीले जनाएको छ ।