भैरहवा । रुपन्देहीको ओमसतिया गाँउपालिकामा शुरु भएको गाउँसभा त्यहाँका वडाध्यक्षहरुले बहिस्कार गर्ने भएका छन् । गाउँपालिकासँग विभिन्न सात बुँदे असमति जारी गर्दै वडाध्यक्षसहित २५ जना गाउँसभा सदस्यले गाउँसभा बहिस्कार गर्ने भएका हुन् । स्थानीय सरकारले आज असार १० गते बजेट ल्याउनुपर्ने प्रावधान अनुरुप गाउँपालिकाले आजको गाउँसभामा बजेट घोषणा गर्न लागेको छ ।
असार १ गते देखि ९ गतेसम्म ८ पटक बैठक बस्दा समेत नीति तथा कार्यक्रम लगायत आर्थिक वर्ष २०७८÷७९को बजेट निर्माणमा गाउँपालिकाका अध्यक्षले ‘एकलौटी तानाशाही कार्यशैलीमा मनोमानी ढंग’ गरेको बताउँदैं आफूहरु बाध्य भएर गाउँसभा बहिस्कार गर्नु परेको वडा नम्बर ६ का वडाध्यक्ष शिवकुमार धवलले बताए ।
कार्यपालिकालाई बोलाएर छलफल भएपछि मात्र गाँउसभाको बैठक आह्वान गर्नुपर्ने भएपनि कार्यपालिकाको निर्णय विना नै एकलौटी रुपमा गाँउसभा आह्वान गरेको वडा अध्यक्षहरुलगायत गाउँसभाका सदस्यहरुको असन्तुष्टि छ ।
‘हामी ६ वटै वडाका अध्यक्ष सहित २५ जना गाँउसभा सदस्य छौ । हाम्रो सहकार्य विना नै जनतामुखी हुनुपर्ने निति तथा कार्यक्रम र बजेट निर्वाचनमुखी भएकोले बहिष्कार गर्नु परेको हो,’ पत्रकार सम्मेलनमा बोल्दै वडा नं २ का अध्यक्ष ज्ञानेश श्रेष्ठले बताए ।
वडासँग सहकार्य नगरेर गाँउपालिकाले ७÷८ वटा योजनाहरु एकलौटी ढंगले सञ्चालन गरिएको उनीहरुको आरोप छ । गाउँपालिकाले सञ्चालन गरेको बालिका विमा कार्यक्रम कमिशनको प्रभावमा परी रोकिएको आरोप पनि उनीहरुले लगाएका छन् ।
‘गाँउपालकाले चालु आर्थिक वर्षमा ९० प्रतिशत बढि काम सम्पन्न भएको भनेपनि ४० प्रतिशत भन्दा बढि काम सम्पन्न भएको छैन’, असमतिपत्रमा लेखिएको छ,‘कागजमा मात्रै काम सम्पन्न भएकोले सुधार गरेर अगाडी बढ्न आग्रह गर्छौं ।’
वडाको सिफारिस विना नै प्रशासकीय अधिकृतसँगको मिलिमतोमा योजनामा भुक्तानी दिइएको भन्दै उनीहरुले गम्भिर आपत्ती प्रकट गरेका छन् ।
गाँउपालिका अध्यक्ष हिरा केवट राहुलले छलफलका लागि बोलाए पनि उनीहरु माइनुट नै नगरी जाने गरेको बताए । ‘बैठक बसेको केही दिन पछि आएर भत्ताको लागि हस्ताक्षर गर्नु हुन्छ तर छलफल गरेर केही निष्कर्श निकाल्ने पक्षमा उहाँहरु हुनुहुन्न,’ अध्यक्ष केवटले भने,‘उहाँहरुको एउटै अडान २ करोड प्रत्येक वडालाई बजेट दिनु प¥यो भन्ने हो । २७ गतेबाट निरन्तर यही कुरामा छलफल भइरहेको छ । उहाँहरुको लडाई नै वडामा २ करोड बजेट पार्नु हो ।’
उनले थपे,‘गाँउपालिकाको अहिले जनप्रतिनिधिको समन्वयमा बाँढ्नु पर्ने बजेट नै ७ करोड छ । ६ वटा वडालाई एक–एक करोड र बाँकी एक करोड गाउँपालिका अध्यक्ष र उपाध्यक्षको समन्वयमा जाने गरी हामी तयार छौं तर अहिलेसम्म सहमतिमा आउनु भएको छैन ।’
गाउँपालिकामा जनप्रतिनिधीहरुको आपसी विवाद र राजनितीले बजेट पास हुननसक्ने जोखिम बढेको छ ।
गाउँपालिकाका प्रशासकीय अधिकृत दुर्गा पौडेलले गाँउसभाका लागि सबैलाई सन्देश पुर्याइएको र आज विहीबार दिउँसो १ बजे गाउँसभाको बैठक बस्ने तयारी भइहेको बताए ।