बुटवल-२०६५ सालमा बुटवलमा तत्कालीन नेकपा एमालेको महाधिवेशन हुँदा गिरिजाप्रसाद कोइराला अन्तिम पटक रुपन्देही आएका थिए। विभिन्न दलका शीर्ष नेता र देशभरबाट आएका कार्यकर्ताले बुटवलका होटल भरिभराउ थियो।
तर पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला होटलमा बसेनन्। उनी आफ्नै कार्यकर्ताको घरमा बसे। बुटवल पाल्पा रोडमा रहेको सूर्यप्रसाद प्रधानको घरमा उनको बसाइ थियो। त्यस अघि थुप्रैपटक रुपन्देही आएका उनी कहिले पनि होटलमा बसेनन्। बुटवल आउँदा कोइराला प्रायः सुर्यप्रसाद कहाँ नै बस्थे। त्यस बाहेक एकाध पटक अग्निकुमार, जयबहादुर धितालको घरमा पनि गिरिजाप्रसाद कोइराला बसेका थिए।
भैरहवामा रहँदा कोइरालाको बास रामकृष्ण ताम्राकारको घरमा हुन्थ्यो। ‘उहाँ रुपन्देही आउँदा कहिले पनि होटलमा बसेको मलाई याद छैन,–कांग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल सम्झन्छन्–‘अहिले नेताहरु आए भने होटलमै बस्छन् । उहाँ कहिले पनि होटलमा बस्नुभएन, जहिले पनि पार्टीकै साथीहरुकोमा बस्ने बानी थियो, उहाँको दुःखसुख गरेर कार्यकर्तामै बस्ने स्वभाव थियो ।’ कुनै ठाउँमा कार्यक्रम भए नजिकको कार्यकर्ताको घरमा खाना खाने गरेको ढकाल सम्झिन्छन्।
रुपन्देही आउँदा मात्र होइन, देशका विभिन्न भागमा जाँदा समेत गिरिजाप्रसाद कोइराला कार्यकर्ताहरुको घरमै बस्ने गरेको १९ वर्ष कोइरालाको स्वकिय सचिव रहेका गोकर्ण पौडेल बताउँछन्। ‘म टुरिष्ट हो र होटलमा बस्नलाई ? म त नेता हो–कोइरालाको बास बस्नेबारेका कुराकानीबारे पौडल भन्छन्–‘म जहाँ बस्छु त्यो मेरो कार्यकर्ता हुनुपर्छ। कार्यकर्ताको मै बसेर दुःखसुख बुझ्ने हो भन्नुहुन्थ्यो।’
होटलमा बस्दा सबैले प्रवेश पाउन नसक्ने तर कार्यकर्ताकोमा बस्दा सबैखाले कार्यकर्ताको भावना बुझ्न सघाउ पुग्ने कोइलाको धारणा थियो। लामो समय बस्दा भने कोइराला सरकारी गेष्टहाउसमा बस्ने गरेको पौडेलले सुनाए। ‘चार पाँच दिन बस्नुपर्यो भने राष्ट्र बैंकको, कृषि विकास बैंकको गेष्ट हाउसमा बस्ने गर्नहुन्थ्यो–उनले भने। गिरिजाप्रसादको बास पाल्पामा भागवत ज्ञवाली, दाङमा खुमबहादुर खड्काको घरमा हुन्थ्यो।
गिरिजाप्रसाद कोइराला कार्यकर्तामैत्री नेता भएको कार्यकर्ता बताउँछन्। ‘कार्यकर्तासँग उहाँको धेरै राम्रो सम्बन्ध थियो। कार्यकर्ताले उहाँसँग खुल्ला रुपमा कुरा गर्थे। कार्यकर्तालाई चित्त बुझाउन सक्ने स्वभाव पनि उहाँमा थियो।’–कांग्रेस महासमिति सदस्य रामबहादुर कार्की भन्छन्–‘कांग्रेसले जे गर्छ त्यो बोल्नुपर्छ, जे बोल्छ त्यो पुरा गरेर छोड्नुपर्छ भनेर आँफै भन्नु हुन्थ्यो।’
माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका गिरिजाप्रसाद कोइराला २०६२–६३ सालको आन्दोलनको सर्वोच्च कमाण्डर पनि हुन्। उनी मुलुकको ४ पटक प्रधानमन्त्री भएका थिए। २०६६ साल चैत्र ७ गते कोइरालाको निधन भएको थियो।