दाङ–ग्रामीण तथा शहरी विकास मन्त्री हरिप्रसाद रिजालले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलमा रहेका सबै मन्त्रालय एवम् निर्देशनालयहरु एक वर्षको अवधि भित्र देउखुरी उपत्यकामा आइपुग्ने बताएका छन् ।
प्रदेश सभाको बैठकबाट राजधानी तोकिएपछि राप्ती उपत्यका देउखुरीमा राजधानी कार्यान्वयनले तिब्रता पाएसंगै आर्थिक बर्ष २०७८/०७९ मा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सहित ९ वटा मन्त्रालय स्थायी राजधानीमा सारिने बताएका हुन् ।
उनका अनुसार नयाँ आर्थिक बर्ष सुरु भएको केही महिना भित्र आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्थापना गरिने छ । बाँकी मन्त्रालयहरु पनि बर्ष दिन भित्र आइपुग्ने उनले बताए।
राप्ती प्राविधिक शिक्षालय स्थापना हुँदा बनेका संरचनामा मन्त्रालय स्थापना गरिएको हो । ती संरचना मर्मत गरेर सुविधायुक्त बनाउन थालिएको छ ।
आफ्नो कार्यकक्षमा बिहिवार पत्रकारहरु संगको कुराकानीमा मन्त्री रिजालले स्थायी राजधानी कार्यान्वयन संगै नयाँ शहर निर्माणको प्रक्रिया अन्तरगत गुरुयोजना र डिपिआर तयार पार्ने कार्यले तिब्रता पाएको जानकारी दिए ।
राप्ती प्राविधिक शिक्षालय भित्र प्रदेशका सबै जसो मन्त्रालय, प्रदेश सभा र केही निर्देशनालय राखिने छ । जस अन्तरगत शिक्षालयलाइ गढवा गाउँपालिका स्थित सरस्वती माध्यमिक विद्यालयमा सारिने छ । अहिले शिक्षालय र विद्यालयको लागि पूर्वाधार निर्माणको काम भैरहेको हो ।
‘लुम्बिनी प्रदेशको व्यवस्थित राजधानी शहरको परिकल्पना गरेका छौं । सोही अनुसार योजना बनिरहेको छ’मन्त्री रिजालले भने–‘संघियता कार्यान्वयनको हिसाबले स्थायी राजधानीको निर्णय गरिनु र त्यसलाई कार्यान्वयनमा लगिनु दुबै महत्त्वपूर्ण बिषय तथा उदाहरण बनेको छ ।’
लुम्बिनी प्रदेशको ग्रामीण तथा शहरी विकास मन्त्रालयले खानेपानी, सरसफाइ तथा स्वच्छता, भवन आवास तथा शहरीकरण, पर्यटन प्रबद्र्धन र विकासको काम हेर्ने गर्छ । लुम्बिनी प्रदेशभरी ९७ प्रतिशत घरमा पानीको धारा पुगेको बताउदै मन्त्री रिजालले अझै खानेपानी नपुगेका बस्तिमा पानीको धारा पुराइने बताए ।
हिउँदे अधिवेशनसम्म प्रदेश सभा भालुवाङ सार्ने तयारी
स्थायी राजधानीमा लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन सञ्चालन गर्ने गरी तयारी भएको छ। पाँच करोड भन्दा बढीको लागतमा शिक्षालय परिसर भित्र प्रदेश सभा भवन बनिरहेको छ ।
यो भवनमा हिउँदे अधिवेशनको बैठक चलाउने तयारी रहेको मन्त्री रिजालले बताए । ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको संसद भवन निर्माण गरेर संसद चल्ने हो’उनले भने–‘मुख्यमन्त्री ज्यूको पनि यही इच्छा छ, हिउँदे अधिवेशन राजधानी क्षेत्रमा राख्न पाइयोस् ।’