बुटवल-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले आवश्यक परेको खण्डमा कोरोना रोकथामको लागि गरिएका लकडाउनको क्रममा जिवनयापनमा कठिनाई भएकाहरुको राहतको लागि खट्न कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
दैनिक ज्यालादारी तथा श्रममा जीवन निर्वाह गर्ने श्रमजीवी वर्ग र गरिबीको रेखामुनी रहेका नागरिकलाई लकडाउन अवधीभर न्यूनतम जीवनयापनको व्यवस्था मिलाउने कामलाई अझ प्रभावकारी बनाउन सरकारसंग आग्रह गर्दै त्यसको लागी सहयोग गर्न कार्यकर्तालाई निर्देशन दिएको हो ।
नेकपा जिल्ला अध्यक्ष शिवराज सुवेदी र सचिव नारायण जिसी –निर्मलद्धारा सोमवार प्रेस विज्ञप्ती जारी गर्दे यस्तो निर्देशन दिएको हो । विज्ञप्तीमा– 'ज्यालादारी मजदुरको डाटा संकलन गर्न, आवश्यक राहतको सूची बनाउन र स्थानीय पालिकाका जनप्रतिनिधिसंग समन्वय गरेर आवश्यक परेका खण्डमा स्वयंसेवकका रुपमा खट्न कार्यकर्तालाई निर्देशन गर्दछौं । दैनिक अत्यावश्यक उपभोग्य सामग्रीको सहज आपुर्तीको व्यवस्थाका साथै कालोबजारी नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी रुपमा अगाडि वढाउन नेपाल सरकार समक्ष पार्टीको तर्फबाट जोडदार माग गर्दछौं’-उल्लेख गरिएको छ ।
'जिल्ला कमिटीका सबै कमरेडहरु, दुबै तहका निर्वाचन क्षेत्रीय कमिटी तथा सबै पालिकाका जिम्मेवार कमरेडहरु परिस्थितिलाई सक्दो सहज बनाउने काममा केन्द्रित हुनुहोस्' भन्ने पार्टीको निर्देशन रहेको विज्ञप्तीमा उल्लेख छ ।
प्रकोपबाट बच्न पहिले आफैले आफ्नै घरैदेखि सावधानी अपनाउन जरुरी रहेको उल्लेख गर्दे लकडाउनको दोस्रो चरणलाई अझ संवेदनशील रुपमा रहेको भन्दै अझ बढी सजग, सचेत र सावधान रहन आग्रह गरिएको छ ।
लकडाउन हाम्रै सुरक्षा र थप सावधानीका लागि भएको भन्दै घरमै बस्न, भीडभाडमा नजान र आफु सुरक्षित रहेर आम नागरिकलाई सुरक्षित गर्नेतर्फ लाग्न सबैमा आग्रह समेत गरीएको छ ।
साथै बिदेशबाट आएकाहरुको पहिचान गरि स्थानीय स्तरमा तयार पारिएका क्वारेन्टाईनमा अनिबार्य बस्न लगाउने काममा सहयोग गर्न र सामाजिक दुरी कायम राख्न आम कार्यकर्तालाई निर्देशन जारी समेत गरिएको छ ।
बिदेशबाट आएकाहरुको पहिचान गरि स्थानीय स्तरमा तयार पारिएका क्वारेन्टाईनमा अनिबार्य बस्न लगाउने काममा सहयोग गर्न र सामाजिक दुरी कायम राखेत महामारी विरुद्धको यो युद्धमा अब्बल दर्जाको सिपाहीको भूमिका निर्वाह गर्न कार्यकर्तालाई निर्देशन जारी गरिएको छ ।
'विषम परिस्थितीमा जनस्वास्थ्य र जनजीविकाका पक्षमा संवेदनशील भइ पर्याप्त सुरक्षा सामग्री र आवस्यक उपकरणसहित चिकित्सक र स्वास्थ्यकर्मी परिचालन गर्न, भेन्टीलेटर सहितको आइसीयू कोरोना विशेष अस्पताल सञ्चालन गर्न, प्रत्येक जिल्लामा आवश्यक किटसहित कोरोना टेष्ट ल्याबको स्थापना गर्न जरुरी देखिएको छ । यसतर्फ केन्द्रित हुन सरकारलाई आग्रह गर्दछौं'-विज्ञप्तीमा उल्लेख छ ।
'यस्तो परिस्थितिमा निरन्तर काममा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सबैलाई पार्टीका तर्फबाट आभार प्रकट गर्दै अझ दृढताका साथ काममा खट्नुहुनेछ भन्ने अपेक्षा गर्दछौं । राहत र उद्धारका काममा तयार रहन राजनीतिक दल, उद्योगी, व्यवसायी, संघसंस्था र प्रतिष्ठानलाई विनम्र अनुरोध गर्दछौं'-विज्ञप्तीमा उल्लेख गरिएको छ ।