काठमाडौँ – एकीकरणको घोषणा गरेका राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीका नेताहरुले एकीकृत पार्टीको दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
बुधबार अबेर राति दुई दलले एकताको घोषणा गरी नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी रहने सहमति गरेका थिए ।
सोही सहमति अनुसार राजपा र समाजवादी पार्टीका नेताहरु बिहीबार बिहान कार्यालय खुले लगत्तै दल दर्ताको निवेदन दिन निर्वाचन आयोग पुगेका हुन् ।
राजपाका नेता राजेन्द्र महतो, समाजवादीका उपेन्द्र यादवसहित निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् । नेताहरु मास्क लगाएर आयोग गएका हुन् । उनीहरुको निवेदनको दर्ता नम्बर १३८८ हो ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार एकीकरण पश्चात दल दर्ताका लागि निवेदन दिएपछि आवश्यक कागजात छानविन गरी ४५ दिन भित्र दल दर्ताको प्रमाण पत्र दिनु पर्ने व्यवस्था छ ।
पार्टी एकता घोषणा भएको ४५ दिन भित्र निवेदन दिन पाउने व्यवस्थाप भए पनि राजपा र समाजवादीले एकीकरणको घोषणा गरेको भोलिपल्ट कार्यालय खुले लगत्तै आयोग पुगेका हुन् ।