बुटवल- २०५९ सालदेखि २०६४ सालसम्म नेपाली कांग्रेस विभाजित अवस्थामा थियो । कपिलवस्तुमा गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेसका जिल्ला सभापति सुधाकर पाण्डे थिए। शेरवहादुर देउवाले नेतृत्व गरेको नेपाली कांग्रेस (प्रजातान्त्रिक)को जिल्ला सभापति राजेश आचार्य बनेका थिए। उनै पाण्डे र आचार्य अहिले पनि नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापति बन्ने दौडमा लागेका छन्।
२०६४ सालमा २ कांग्रेस पुन एक भए। पार्टी एकता भएपछि जिल्ला अधिवेशनमा पनि पाण्डे र आचार्य उमेद्वार भएका थिए । तर दुबै जना नेतृत्वमा आउन सकेनन्। २०६७ सालमा भएको १२ औं महाधिवेसन अन्तर्गतको जिल्ला अधिवेसनमा सुधाकर पाण्डे र राजेश आचार्यसँगै हालका सभापति सुरेन्द्रराज आचार्यबीच प्रतिस्पर्धा भएको थियो।
राजेशले सबैभन्दा बढी मत ल्याए । तर बहुमत ल्याउन सकेनन्। बहुमत नआएपछि दोस्रो पटकको मतदानमा राजेश र सुरेन्द्रबीच मात्र प्रतिस्पर्धा भयो । मैदानबाट बाहिरिएका सुधाकरले समर्थन गरेपछि सुरेन्द्रराज आचार्य जिल्ला सभापति भए। अघिल्लो १३ औं महाधिवेशनमा पनि सुरेन्द्र जिल्ला सभापति निर्वाचित भएका थिए।
लगातार २ कार्यकाल सभापति भएपछि सुरेन्द्रराज आचार्यलाई अब दोहोरिन विधानले दिँदैन। त्यसैले उनी बाहेक अर्को सभापति आउने छन्। त्यसमध्ये विभाजित अवस्थाका २ सभापति सुधाकर पाण्डे र राजेश आचार्य अबको सभापतिको पनि मुख्य दाबेदार मानिएका छन्। सुधाकर पौडेल समुहका हुन् भने राजेश देउवा निकट हुन्।
दुबैले जिल्लामा पार्टीलाई बलियो बनाउन आफू उमेद्वार बन्न खोजेको बताएका छन् । ‘राजनीति मार्फत जनताको पनि सेवा गरौं । जिल्लामा पार्टीलाई पनि सवल र सक्षम बनाउँ भनेर अहिले उमेद्वार बन्ने इच्छा व्यक्त गरेको हुँ।’ जिल्ला सभापतिका आकाक्षी पाण्डेले भने ‘जिल्लामा पार्टीका सबैलाई मिलाएर अघि बढ्न सक्छु जस्तो लाग्छ।’
यता जिल्ला सभापतिका अर्का आकाक्षी राजेश आचार्यले भने लामो समयदेखि आफू जिल्ला कार्यसमितिमा रहेकाले जिल्लाको नेतृत्व हाँक्न सक्ने बताए। ‘०३७ सालदेखि म लगातार जिल्ला कार्यसमितिमा थिएँ। लामो समय जिल्ला समितिमा क्रियाशिल र एक पटक सभापति भएको अनुभवले अब पनि राम्रै नेतृत्व गर्न सक्छु जस्तो लाग्छ।’
देउवा प्यानलबाट राजेशको मात्र जिल्ला सभापतिमा दाबी छ । तर रामचन्द्र पौडेलको समूहबाट भने सुधाकर मात्र आकाक्षी छैनन्। उनीसहित अब्दुल कलाम र केशव श्रेष्ठले पनि जिल्ला सभापतिको उमेद्वार बन्ने इच्छा राखेका छन्। कलाम महाराजगञ्ज नगरपालिकाको मेयर हुन् भने श्रेष्ठ बुद्धभूमि नगरपालिकाको मेयर हुन्।
हालका जिल्ला सभापति सुरेन्द्र आचार्य रामचन्द्र समूहका हुन्। आचार्यले जसलाई चाहन्छन् उनै पौडेल समुहबाट जिल्ला सभापतिको उमेद्वार बन्ने कार्यकर्ताहरु बताउँछन्।
कपिलबस्तु कांग्रेस नेता दिपकुमार उपाध्यायको गृहजिल्ला हो। उपाध्याय बाहेक केन्द्रिय सदस्य अतहर कमाल मुशलमान, अभिशेकप्रताप शाह र लुम्बिनी प्रदेश संसदीय दलका नेता विरेन्द्र कानोडियाको पनि राम्रै प्रभाव छ ।
कांग्रेसको १४ औं महाधिवेसनको तालिका सार्वजनिक भइसकेको छ । तल्ला तहका अधिवेशन सर्ने चर्चाले माहोल जति तात्नुपर्ने हो कपिलवस्तुमा त्यस्तो तातिसकेको देखिदैन। तर उमेद्वारका आंकाक्षीहरुले आन्तरिक भेटघाटलाई भने जारी नै राखेको कांग्रेस कपिलवस्तुका जिल्ला सदस्य प्रकाश घिमिरेले बताए। ‘कार्यकर्ताहरुमा अधिवेशन कहिले होला भन्ने अन्योल छ । नेता कार्यकर्ता भेटघाट भइरहेको छ’-उनले भने ।