गुल्मी - नेकपा एमालेका प्रवक्ता तथा पूर्वमन्त्री प्रदिप ज्ञवालीले नेपालमा अदालतले प्रधानमन्त्री नियुक्ति गर्ने नयाँ नजिर र अभ्यास सुरु गरेर देशमा अनपेक्षित मोड सिर्जना गरेको बताएका छन् । केही पार्टी र नेतालाई जनता भन्दा अदालतको बढी बिश्वास गर्ने भएकाले अदालत त्यसैमा फसेर बहुदलीय प्रणाली मास्ने खेल सुरु भएको उनको भनाइ छ।
आइतबार प्रेस चौतारी नेपाल गुल्मीले आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले ज्ञवालीले एमाले पार्टी सस्थागत ढङले नफुट्ने दाबी गरे । केही प्रमुख नेताहरु नै अभिव्यक्तिका हिसाबले बाहिरिए पनि १० बुदे सहमतिको जगमा पार्टीलाई एकताबद्ध बनाइने उनको तर्क छ ।ज्ञवालीले पार्टीमा बाटो बिराएका र गल्ती गरेकालाइ एकताको पक्षमा ल्याउन निकै कसरत भएपनि केही नेता ज्युहरु गठबन्धन धाएर परपर सरेको आरोप लगाए ।
उनले पार्टी विभाजनले कसैलाई पनि फाइदा नभएको प्रसस्त उदाहरण नेपालमै भएकाले पार्टी फुट्नेभन्दा पनि केहि नेता छुट्ने संभावना बढि भएको उल्लेख गरे। साथै ज्ञवालीले स्वार्थको गठजोडबाट बनेको सरकारसँग जनताका आशा र अपेक्षा पुरा गर्ने कुनै मुद्दा नभएको बताए ।
चुनाबमा जनतासंग गरिएको बाचा र घोषणा पत्र एकातिर राखेर अस्वभाविक गठबन्धनबाट निर्माण भएको सरकार र त्योसंग जोडिएका पार्टी तथा नेताहरुले केहि गर्न नसक्ने उनले दाबी गरे । त्यस्तै विभिन्न कार्यक्रमको सन्दर्भमा गृह जिल्ला आएका ज्ञवालीले निर्वाचन क्षेत्रमा भएका अस्पताल, सडक, खानेपानी, विद्यालय लगायतका विकास पुर्वाधारको बिषयमा पनि जानकारी गराएका थिए ।