बुटवल- व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडक अन्तर्गतको राजमार्ग चौराहादेखि चिडियाखोला सडकखण्डको तत्काल मर्मतसम्भार र विस्तार गर्न माग गर्दै युवा संघ नेपाल रुपन्देहीले सम्बन्धित कार्यालयहरुको ध्यानाकर्षण गराएको छ। चौराहा–गोलपार्क खण्डमा खाल्डाखुल्डी, धुलो र हिलोका कारण हिंडडुलमा समेत समस्या उत्पन्न भएको छ।
खाल्डाखुल्डी तत्काल पुरेर हिंड्नयोग्य बनाउन माग गर्दै युवा संघ नेपाल रुपन्देहीले मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देही, व्यापारिक मार्ग विस्तार आयोजना कार्यालय र निर्माण कम्पनीको सम्पर्क कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको छ।
युवा संघ रुपन्देहीका अध्यक्ष मनोज गौचनको नेतृत्वमा संघका केन्द्रीय सदस्यहरु, जिल्ला सदस्य तथा सल्लाहकार, खेलकुद महासंघका सचिवालय सदस्य सहितको टोली ती कार्यालयमा पुगेको थियो।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ध्यानाकर्षण पत्र बुझाउँदै युवा संघले निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीबाट आमसर्वसाधारणमा सास्ती पुगेको भन्दै ठेकेदार उपर तत्काल कानुनी कारबाही अगाडि बढाउन माग गरेको छ । यस्तै व्यापारिक मार्ग परियोजना कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल मर्मत सम्भारका काम अगाडि बढाउन र लामो समयदेखि रोकिएको विस्तारको कामलाई पनि तत्कालै अगाडि बढाउन प्रभावकारी निर्देशन दिन माग गरिएको अध्यक्ष गौचनले जानकारी दिए ।
निर्माण कम्पनीको पड्सरी स्थित सम्पर्क कार्यालयमा पुगेर युवा संघले तत्काल मर्मत सम्भार विस्तारका कामलाई अगाडि बढाउन ध्यानाकर्षण गराएकाे छ। काम तत्कालै नबढाए ठेकेदारलाई आफुहरुले नै समातेर कानुनी कारबाहीका लागि प्रशासनमा बुझाउने संघको चेतावनी छ ।

उक्त सडक खण्डको ठेक्का ‘द कंचनजंघा विरुवा जेभी काठमाडौं’ले पाएको थियो । पटक पटक म्याद थप्दासमेत उक्त कम्पनीले काम अगाडि बढाएको छैन । अति संवेदनशिल तथा सम्रग बुटवललाई नै कुरुप बनाएको यस सडकको निर्माण कार्यमा निर्माण व्यवसायीले गरेको अटेरीपना र ढिलासुस्तीलाई अब सहेर नबस्ने संघको चेतावनी छ ।