बुटवल-प्रदेश ५ का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको छ । रुपन्देही, पाल्पा र गुल्मी जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको हो ।
रुपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका ८ बसडिलवामा करेन्ट लागेर रुपन्देही सिद्धार्थ नगरपालिका १२ शान्तिनगरका २१ वर्षका आयुष पुनको मृत्यु भएको हो । साथी जोहान गुरुङको घरमा बस्दै आएका उनले मोटर चलाई धारा खोल्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए । घाइते भएका उनको उपचारका क्रममा सिटी हस्पिटल भैरहवा ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुल्मी रुरु क्षेत्र गाउँपालिका १ साखरमा एक पुरुषको शव फेला परेको छ । नाम थर ठेगाना नखुलेको अन्दाजी १४/१५ वर्षको पुरुषको शव रिडी खोलाले बगाएर ल्याएर ढुङ्गाको चेपमा अड्किएको अवस्थामा स्थानीयले फेला पारेका हुन् । शवको हालसम्म पहिचान खुल्न नसकेको र शव प्राथमिक स्वास्थ्य केन्द्र रिडीको मुर्दा घरमा राखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै गुल्मीको सत्यवती गाउँपालिका ८ भार्सेमा बाथरुमबाट लडेर एक पुरुषको मृत्यु भएको छ । भार्सेका ४० वर्षीय दान बहादुर श्रीष आफ्नै घरको बाथरुममा लडेर घाईते भई उपचारको लागि पाल्पा ल्याउदै गर्दा मृत्यु भएको हो । उनकी श्रीमतीले बीच बाटोमा मृत्यु भएको आशंकामा पुनः फर्काएर प्राथमिक स्वास्थ्य केन्द्र जोहाङमा पु¥याएपछि स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए ।
पाल्पाको रामपुरमा मृत अवस्थामा शव फेला परेको छ । रामपुर नगरपालिका ६ तातोपानी घाट स्थित कालीगण्डकी नदीको किनारमा पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको हो । अन्दाजी १७/१८ वर्षको जस्तो देखिने पुरुषको पेटमा चिरेर टाँका लगाएको जस्तो घाउ समेत रहेको र शव सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।