बुटवल-पाल्पामा पहिरोले पुरिएका थप एकजनाको शव फेला परेको छ । तानसेनदेखि ७ किलोमिटर टाढा तानसेन–रिडी सडक खण्डमा सोमबार गएको पहिरोले गाडी बगाएको ठाउँमा मंगलबार थप एक जनाको शव भेटिएको हो ।
घटनास्थलमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले थप एक जना पुरुषको शव निकालेका हुन् ।
उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो सँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
तानसेन नगरपालिका वडा नं ११ सम्मोबारीमा पहिरोमा पुरिएर सोमबार ३ जनाको मृत्यु भएको थियो । दुई जनाको घटनास्थलमै र एक जनाको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हनेहरुमा पाल्पाका रिब्दिकोट गाउँपालिका वडा नं २ देउरालीका ३२ वर्षिय भुवन खाम्चा, काभ्रे पाँचखाल नगरपालिका वडा नं ८ हुम्के बजारका निवेश श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका वडा नं २९ बाङ्गेसालका २३ बर्षिय वीर बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले पुष्टि गरेको छ । पहिरोमा ४ वटा सवारी साधन पुरिएको अवस्थामा भेटिएका छन् ।
लु १ क १९२८ टयाक्टर, लु २ ख १३७६ नम्वरको ट्रक, लु १ च ७०४३ नम्बरको बलेरो र लु १ च ७०११ नम्वरको कार पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मनोज गिरीले बताए ।