बुटवल । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशले समाजबादको नयाँ स्वरुप खोजिरहेको बताएका छन् । उनले माधव नेपालले नयाँ पार्टी निर्माण गरेकाे सन्दर्भलाई जोड्दै देश समाजवादी धुर्विकरणतर्फ गइरहेको बताएका हुन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले भने, ‘एमालेभित्र विद्रोह गरेर माधव नेपालजीले एमाले समाजवादी भनेर फेरि अर्को पार्टी सुरुवात गर्नु भएको छ, यसले के देखाउँछ भने फेरि नयाँ समाजवादको मोडेल खोज्नेतिर देश गइराखेको छ । त्यो अबको आवश्यकता हो ।’
उनले त्यसका लागि युवा पुस्तालाई नयाँ बाटो देखाइदिनुपर्ने पनि बताए । त्यसो गर्न सकिए नेपालले विश्वालाई नयाँ विचार दिन सक्ने डा. भट्टराईको भनाइ छ । ‘हामी ७० आसपासकाले धेरै गर्न त नसकौंला तर युवा पुस्ता आएको छ, त्यसलाई नयाँ बाटो देखाइदिने आँट गर्ने हो भने नेपालले फेरि एकचोटी विश्वलाई नयाँ विचार र ज्ञान दिन सक्छ,’ भट्टराईले भने ।