बुटवल-आज (बिहीबार) पनि देशभर झरी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बिहान) देशका अधिकांश भूभागमा मौसम बदली छ भने १, २, ५, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
दिउँसो पनि देशभर बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै १, २, बागमती, ५ नम्बर, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ।
यस्तै राति पनि केही स्थानमा हल्कादेखि मध्यमसम्म तथा १, २, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाले जारी गरेको बुलेटिनमा आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै भनिएको छः
वर्षा हुने क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
मौसविद्का अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले केही दिनदेखि माैसम बदली र वर्षाको मात्रा बढेको हो।