काठमाडौं । बुटवल-लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने प्रक्रिया सुरू भएको छ।
प्रदेश सभाको नवौ अधिवेशनको तेश्रो बैठक विपक्षीको नाराबाजीबीच केहीबेरमै स्थगित भएको थियो। पुन: साढे २ बजे सुरू भएको बैठकलाई सभामुखले तेश्रो बैठककै निरन्तरता दिएका थिए। ९ मिनेट मात्र चलेको बैठकमा ४ वटा विधेयक पेश भएलगत्तै कैठक साढे ३ बजेसम्मका लागि स्थगित भएको थियो। प्रमुख प्रतिपक्षी दल एमालेले भने सो बैठक बहिस्कार गरेको थियो।
४ बजेपछि शुरू भएको चौथो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम केसीले मुख्यमन्त्रीमा बिश्वासको मत लिने प्रकृया अघि बढाएका हुन्। प्रमुख प्रतिपक्ष दलले तेस्रो बैठक पनि बहिस्कार गरेका छन्।
प्रमुख प्रतिपक्ष दलका संसदीय दलका उपनेता बैजनाथ चौधरीले प्रदेश सभा सचिवालयले विपक्षी दलको माग सुनुवाई नभएकाले बैठकमा उपस्थित नहुने बताए। "हामीले जे विषय उठाउँदै आएका छौ, त्यो विषयमा टुंगो नलागी कसरी बैठक निरन्तर हुन्छ ?-उनले भने-हामी बैठकमा सहभागी हुदैनौं, प्रतिपक्षीबिना चलाएको बैठकले कसरी वैधानिकता पाउँछ ?" मुख्यमन्त्री केसीले विश्वासको मत लिने बैठकमा राष्ट्रिय जनमोर्चाकी प्रदेश सभा सदस्य तारा जिसी मात्र प्रतिपक्षको कुर्चीमा थिईन्। जनमोर्चाले मुख्यमन्त्रीलाई समर्थन गरेको छ। जनमोर्चा उपस्थित भएकाले बैठक चल्न नरोकिने सत्तारूढ दल माओवादी केन्द्रका सांसद सुदर्शन बरालले बताए। जनमोर्चा सरकारमा नजाने भएकाले प्रतिपक्षमै बसेको बरालको तर्क छ। "उहाँहरू सत्तामा रहँदा त संसद बहिस्कार गर्नुहुन्थ्यो, अहिले बहिस्कार गर्नु के नयाँ कुरा भयो र ?"-उनले भने।