बुटवल । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा विश्वासको मत मागेका छन् । ४ बजे शुरु भएको नवौं अधिवेशनको पाँचौं बैठकमा मुख्यमन्त्री केसीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत मागेका हुन् ।
'गठबन्धनको सरकारको महाअभियानमा एकतावद्ध साथ दिन र विश्वास गरेर राजनीतिक सहयात्राको नयाँ गोरेटो कोर्नका लागि विश्वासको मत दिएर साथ दिनुहुनेछ,' विश्वासको मत माग्दै उनले भने ।
उनले विश्वासको मत मागिरहँदा प्रदेश सभामा प्रतिपक्ष नेकपा एमालेका सांसदको उपस्थिती शुन्य रहेको छ । एमालेले प्रदेश सभाको नवौ अधिवेशनको तेश्रो बैठकमा नाराबाजी गरेपछी केहीबेरमै स्थगित भएको थियो। एमालेले आफ्नो पार्टीले कारवाही गरेका सांसदद्वय अजयबहादुर शाही र बिमला वलीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै आएको छ ।
विश्वासको मत माग्दै मुख्यमन्त्री केसीले कर्टसीकै लागि भएपनि प्रतिपक्ष सांसदहरुको उपस्थिती होला भन्ने भन्ठानेको बताए । उनले भने-‘कर्टसीकै लागि भए पनि शुभकामना प्राप्त होला भन्ने ठानेको थिएँ । यति पाको राजनीतिक पार्टी राम्रै संस्कार होला भन्ने थियो । सत्ता बहिर्गमनको आक्रोश भए पनि आन्दोलनको सहयात्री हुनुको नाताले कर्टसीकै रुपमा भए पनि अगाडि बढाउनुपर्थ्यो ।’ उनले सत्तामा रहने र प्रतिपक्षमा रहने सामान्य प्रक्रिया रहेको भन्दै उनले संसदीय प्रक्रियालाई अवरुद्ध गर्न नहुने बताए ।