बुटवल । कालीगण्डकी डाइभर्सनबारेका मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने गरि आज पेशी चढेको छ । यसविरुद्ध परेका सबै मुद्दालाई एकै ठाउँमा राखी अधिवक्ता तुलसीराम पोखरेललगायतको मुद्दालाई मूल मुद्दा मानेर बिहीबारका लागि पूर्ण इजलासमा सुनुवाइ तोकिएको हो। न्यायाधीशहरू दीपककुमार कार्की, प्रकाशकुमार ढुंगाना र कुमार चुँडालको पूर्ण इजलासमा सुनुवाई हुन लागेको हो ।
यसअघि ३ भदौमास सर्वोच्चले मुद्दा हेर्न नभ्याइनेमा राखेपछि आजका लागि सुनुवाइ सरेको हो।
अधिवक्ता पोखरेल, सन्तोष भण्डारी र रामबहादुर शाहीले संयुक्त रूपमा दर्ता गरेका रिटमाथिको पहिलो सुनुवाइपछि आदेशका क्रममा न्यायाधीशको राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा परेको हो।
रिटमा कालीगण्डकीलाई तिनाउ नदीमा डाइभर्सन गर्दा कालीगण्डकी नदीको धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्त्वमा असर पर्ने र पर्यावरण प्रतिकूल हुने भएकाले परियोजनाको काम काम रोक्न माग गरिएको छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गण्डकी र लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ।