तम्घास । पहिरो खसेपछि कालीगण्डकी करिडोर अबरुद्ध भएको छ । लगातार दुई दिनदेखि परेको अबिरल बर्षाले कालीगण्डकी करिडोरको रिडी रुद्धबेनी सडक खण्डको खोपामा माथिबाट पहिरो खसेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेका अनुसार पहिरो पन्छ्याउने काम भइरहे पनि सडक भने सूचारु हुन सकेको छैन । लगातार पानी परिरहेको समयमा माथिबाट पहिरो खसेको र सडकमा हिलो भएकाले सडक खुलाउन कठिन भइरहेको उनले बताए । सडकमा पहिरोमा ध १ च १४६ नम्वरको बोलेरो जिप धसेको थियो ।
यस्तै वामीदेखि रिडीको सडक अन्तर्गतका केही स्थानमा पहिरो खसेका कारण सो सडक पनि अबरुद्ध भएकोे छ । लगातार पानी परिरहेकाले सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।
यस्तै गुल्मीमा ग्रामीण क्षेत्रका अधिकांश सडकहरु पहिरोका कारण अबरुद्ध भएका छन् । लगातार पानी परिरहेकाले सर्तकता अपनाउन प्रहरीले आग्रह गरेको छ । यदि कतै केही समस्या परे तुरुन्त प्रहरीलाई खबर गर्न पनि जिल्ला प्रहरी कार्यालय गुल्मीले आग्रह गरेको छ ।