भैरहवा - रुपन्देहीको रोहिणी गाँउपालिका ३ सेमरहवामा शुक्रबार एक्कासी गाँउमा पानी पस्यो। भैरहवा परासी सडक खण्डसँगै रहेको सेमरहवामा करिब ३ दर्जन घर पानीले प्रभावित बने। बिहान करिब ६ बजे गाँउमा पानी पस्न थालेपछि ज्यान जोगाउन कोही हुलाकी सडक तर्फ आए भने कोही घरको माथिल्लो तल्लामा पुगे। बाढीले मानवीय क्षति नभएपनि अन्न तथा अन्य सामाग्रीमा क्षति पुगेको छ।
स्थानीय रमेश कुर्मीका अनुसार अहिले सम्म यस्तो बाढी कहिले आएको थिएन। ‘विहान सम्म सबै ठिक ठाक नै थियो, अचानक ६ बजे पछि यस्तो अवस्था आयो। अन्नहरु भिज्यो, पशु चौपाया पनि निकाल्न पाएनौ।’ कुर्मीले भने ।
सेमरहवामा मात्रै करिब ३ दर्जन घरको आवगमन बाढीले बन्द हुन पुग्यो । अधिकांस कच्ची घरको अवस्था नाजुक छ, गाँउ नै डुबानमा छ। गाँउको अवस्था यस्तो भएपनि विपदको बेला अहिले सम्म कोही हेर्न आएको छैन कुर्मीले दुखेसो पोखे।

अविरल वर्षाका कारण सेमरहवा मात्र होइन, गुजरपुरवा, धकधई, बसन्तपुर लगायतका क्षेत्रका बस्तीहरुमा पानी पस्दा अधिकांश घर जलमग्न भएका छन्।यस्तै रुपन्देहीको मर्चवारमा दाउरा बटुल्ने क्रममा एक युवालाई खोलाले बगाएको छ। दानव खोलामा दाउरा छोप्न गएका सम्मरीमाई ३ पिपरहवाका २३ वर्षिय बब्लु लोधलाई नदीमा आएको भेलले बगाएको हो ।
शुक्रबार विहान करिब ६ बजे खोलामा बगाएर ल्याएको दाउरा टिप्न जाँदा लोधलाई बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले जानकारी दिए।
यस्तै भैरहवा–भुमही मूख्य सडक खण्ड पनि प्रभावित बनेको छ। मूख्य बाटोमै करिब ३ फिट पानी बगेको कारण सवारी आवागमन प्रभावित बनेको छ। मूख्य बाटोबाट आउदै गरेको भारतीय ट्रक पनि पानीले बगाएको छ। त्यस्तै ओमसतिया ३ बडसारी गाँउमा पानीको बहावले गाँउको आवगमन नै बन्द गरेको छ । ६५ घर रहेको सो गाँउको निकास नै अवरुद्ध भएपछि उनीहरुको आवगमन बन्द भएको छ।
.JPG)
तिलोत्तमा १४ भत्केपानीमा ३ वटा कच्ची घर, ओमसतिया १ कोटा गाँउमा १ वटा कच्ची घर, कंचन गाँउपालिका ३ मा १० वटा कच्ची घर, र बुटवल १२मा नालाले एक तल्ले पक्की घर कटान गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। त्यस्तै देवदह ३ बसन्तपुरमा एक बाख्रा फर्ममा क्षति पु¥याएको छ, अविरल वर्षाले फर्मममा पानी पसेपछि त्यहाँ स्थित ३ दर्जन बढि बाख्रा बाढीले बगाएको छ।
अविरल वर्षाले रुपन्देहीको देवदह, तिलोत्तमाको चिल्हिया, ओमसतियाको बसन्तपुर, मर्चवार, रोहिणीको धकधई लगायतका क्षेत्रका घर डुबानमा परेको छ। स्थानीय र सुरक्षकर्मीको टोली उद्वारमा खटिएका छन । जिल्ला प्रशासन कार्यालय, विपद उद्वार टोली, सुरक्षाकर्मीका प्रमुखहरु, रेडक्रस तथा सामाजिक संस्थाहरु पनि विपद स्थलमा पुगेर उद्वार र अवस्थाबारे जानकारी लिइरहेका छन।
.JPG)
.jpg)
