बुटवल-बुटवलको ज्योतिनगरमा गएको पहिरोको लेदो बगेर बुटवलको मुख्यबजार क्षेत्रसम्म आइपुगेको छ। ज्योतिनगरमा आएको लेदोसहितको पहिरो बुटवल अस्पताललाईनसम्म आएको हो।
पहिरो आज सोमबार पनि आइरहेको छ। वर्षासँगै पहिरो निरन्तर बगिरहेकोले स्थानीय त्रसित छन्। स्थानीय सामान लिएर सुरक्षित स्थानतर्फ सरिरहेका छन्।
बुटवल वडा नं. ३ को ज्योतिनगरमा चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा आइतबार पहिरो पसेको थियो।
पहिरोले एक दर्जन घरमा क्षति पुगेको स्थानीय विष्णु गुरुङले बताइन्। आइतबार बिहान ६ बजेपछि पहिरो खसेकाले घरमा रहेकाहरु भागेर सुरक्षित भएका र मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्याएर आवागमन अवरुद्ध भएको र त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ। उक्त ठाउँमा २०५५ साल भदौ २० गते पहिरो खस्दा ५७ घरमा क्षति पुगेको थियो।