बुटवल । करिब एक हप्तादेखि बुटवल उपमहानगरपालिकाले फोहोर उठाउन नसक्दा सहर नै दुर्गन्धित भएको छ । उपमहानगरपालिकाले फोहोर नउठाएपछि घरघरबाट स्थानीयले सडकमा ल्याएर फोहोर फ्याँक्न थालेका छन् । बुटवलको मुख्यचोकहरु पुस्पलाल पार्क, मिलनचोक, होराइजन चोक, बसपार्क तथा गोलपार्क लगायतका स्थानमा फोहोरका डङ्गुर देखिन थालेका छन् ।
बुटवल उपमहानगरपालिकाले हाल फोहोर फाल्दै आइरहेको ‘डम्पिङ् साइट’ भरिएकाले फोहोर उठाउन नसकिएको बताएको हो । उपमहानगरपालिकाका वातावरण महाशाखा प्रमुख भूवाप्रसाद लुइँटेलले अर्को साइटको व्यवस्थापन नहुँदासम्म फोहोर नउठ्ने बताए । त्यसका लागि अझै २/३ दिन लाग्ने उनको भनाई छ ।
चोकमा फोहोर थुप्रिएपछि पैदलयात्रु तथा स्थानीयले भने हिडडुल गर्न पनि सास्ती भइरहेको बताएका छन् । बुटवल-९ स्थित न्यु आचार्य मिनिटाउन रेष्टुरेण्टका सञ्चालक बालकृष्ण आचार्यले उपमहानगरपालिकाले फोहोर उठाउन नआउँदा होटेलमा निकै समस्या परिरहेको बताए । उनका अनुसार मिलनचोकमा गएको हप्तादेखि नै फोहोर उठेको छैन । उपमहानगरले फोहाेर व्यवस्थापनलाई गम्भीरताका साथ नदिएको भन्दै आचार्यले गुनासो गरे ।
फोहोर उठाउन नआएपछि स्थानीयले सडकमा नै फोहोर फ्याँक्न थालेका छन् । केहीदिनदेखि बर्षासँगै फोहोर लेदो बनेर सडकमा छरिँदा पैदलयात्रीहरुले सास्ती खेस्ती खेप्नु परेको छ ।
बुटवलले अस्थायी रुपमा हाल वडा नं ११ स्थित पवित्रा नगरमा पोहोर ‘डम्प’ गर्दै आएको थियो । तर, उक्त डम्पिङ साइट भरिएकाले बैकल्पिक रुपमा अस्थायी डम्पिङ साइटको व्यवस्थापन भइरहेको उपमहानगरपालिकाले जनाएको हो ।
वातावरण महाशाखा प्रमुख लुँइटेलले फोहोरको स्थायी व्यवस्थापनका लागि सैनामैना नगरपालिकामा प्रशोधनसहितको डम्पिङ साइट निर्माणको काम अघि बढिरहेको बताए । सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका र बुटवलको सहकार्यमा प्रदेश तथा केन्द्र सरकारको सहलगानीमा निर्माण भइरहेको उक्त डम्पिङ साइटले फोहोर व्यवस्थापनको चुनौतिलाई दिर्घकालसम्म समाधान गर्ने दावी गरे । उनका अनुसार उक्त साइटको प्रारम्भिक वातावरणीय मुल्याङ्कन र साइट क्लियरेन्सको काम सम्पन्न भइसकेको छ ।