बुटवल । लुम्बिनी प्रदेश सरकारको शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रदेशभरबाट ५७ जनालाई प्रदेश पदकले विभूषित गर्ने निर्णय गर्यो । प्रदेश पदक ऐन अनुसार सरकारले गठन गरेको पदक सिफारिस समितिको सिफारिअनुसार संविधान दिवसको अवसरमा विभिन्न १० वटा विधामा विभूषित गर्ने निर्णय गरेको थियो ।
आज विहान प्रदेश राजपत्रमा प्रकाशित पदक पाउनेहरुको नामावलीमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव तथा पदक समितिका सदस्य सचिव रविलाल पन्थका दाइ यदुलाल पन्थको नामावाली पनि समावेश छ । यदुलाल सैनामैनास्थित शहिद नारायण पोखरेल रामापुर क्याम्पस प्रमुख हुन् ।
प्रदेश पदक ऐन अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पदक सिफारिस समितिको सदस्य सचिव रहने व्यवस्था छ ।
सोही ऐनले प्रदेश सरकारका कर्मचारी बाहेकका अन्य व्यक्तिको हकमा पदक सिफारिस गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालय गर्न पाउँने व्यवस्था गरेको छ । यही आधारमा मन्त्रालयका सचिव रविलालले आफ्ना दाइलाई प्रदेश प्रज्ञा पदकका लागि सिफारिस गरेका हुन् ।
गुल्मीको रुरु गाउँपालिका वडा नं ४ स्थायी बसोवास रहेका यदुलाल रविलालका सहोदर जेठा दाइ हुन् । छ भाइमध्ये आफू काइँला हुन् ।
आज प्रकाशित नामावलीमा यदुलाललाई ‘१३ बर्ष प्रधानाध्यापकसहित ३३ बर्ष सामूदायिक विद्यालय तथा विगत ३ बर्षदखि शहिद नारायण पोखरेल रामापुर क्याम्पस प्रमुख रही हालसम्म ३६ बर्ष शिक्षा क्षेत्रमा योगदान गरेको’ आधारमा विभूषित गरिएको जनाइएको छ । साथै राजपत्रमा ‘क्याम्पस भवनमा क्वारेण्टाइन संचालन गरी महामारी नियन्त्रणमा सहयोग पुर्याएको र रेडक्रससँग आबद्ध रही सामाजिक कार्यसमेत गरेको’ उल्लेख गरिएको छ ।
अघिल्ला बर्षजस्तै यसबर्षपनि लुम्बिनी प्रदेशको पदक वितरण कार्यक्रम विवादमुक्त हुन सकेको छैन । समितिले पदक पाउन योग्य व्यक्तिहरुको छनोट गर्दा समितिमा रहेका सदस्यहरुले नै स्वार्थ बाझिने गरी पदक वितरण गरेपछि विवाद आएको छ ।
वरिष्ठ अधिवक्ता महेन्द्र पाण्डेले मापनयोग्य वस्तुनिष्ठ आधारहरुलाई भन्दा नातावाद र राजनीतिक आस्थाका आधारमा पदक बाँडिने परम्पराले पदककै मर्यादा खस्किएको बताए ।
उनले भने- “पाउन योग्यले पनि पाएका छन् । नातावाद र राजनीतिक आस्थाकै कारण पनि पाएका छन् । कसले पाउने हो, कसले नपाउने हो भनेर वस्तुनिष्ठ आधारहरु खोइ ?”
उनले पदकमा पनि स्वार्थ बाझिने गरी सिफारिस गरिदाँ पदककै मर्यादा खस्किँदै गएको बताए ।
लुम्बिनीमा समितिको सिफारिशका आधारमा प्रदेश प्रमुख सेवा पदक क १ जनालाई, प्रदेश प्रमुख सेवा पदक ख २ जनालाई, प्रदेश प्रमुख सेवा पदक ग ४ जनालाई दिइएको छ । मुख्यमन्त्री प्रज्ज्वल दीप पदक क १ जनालाई, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ख २ जनालाई, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ग २ जनालाई दिइनेछ।
प्रदेश सेवा समर्पण क एकजनालाई, प्रदेश सेवा समर्पण ख १५ जनालाई, प्रदेश सेवा समर्पण ग २ जनालाई दिइने प्रदेश राजपत्रमा उल्लेख छ।
यस्तैगरी उजिरसिंह दीप पदक ख ४ जनालाई, उजिरसिंह दीप पदक ग २ जनालाई, समाजसेवा श्री पदक क १ जनालाई, ख ८ जनालाई, ग २ जनालाई, प्रदेश रत्न पदक ख १ जनालाई, ग २ जनालाई, पुथाश्री शिखर पदक ग १ जनालाई, प्रदेश प्रज्ञा पदक ख २ जनालाई दिइने भएको छ।
यस्तै प्रजापति गौतमी पदक ख १ जनालाई, ग २ जनालाई, दंगीशरण बलिहाङ पदक ख १ जनालाई र ग १ जनालाई दिइने राजपत्रमा उल्लेख छ। यी पदक प्रदेश स्थापना दिवसका अवसरमा फागुन ३ गते प्रदान गरिनेछ।
