काठमाडौँ – देशभरका अधिकांश क्षेत्रमा सोमबार आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव अहिले नेपालमा छ। यस्तै मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको मौसमविद्ले बताएका छन् ।
अहिले सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराई भू–भागमा आंशिक बदली रहेको छ ।
सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
यसैबीच पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।