बुटवल-नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले कानुन निर्माण गर्दा संविधानले दिएका अधिकारलाई ख्याल गर्न सरकारलाई आग्रह गरेका छन्।
संघीयता कार्यान्वयनको चरणमा तीन तहका सरकार कानुन निर्माणकै क्रममा रहेकाले प्रेससम्बन्धि कानुन बनाउँदा संविधानले दिएका अधिकारबारे ध्यान दिन आग्रह गरेका हुन्।
उनले केही पत्रकारसँगको असन्तुष्टिका कारण कतिपय सरकारहरुले संवैधानिक अधिकार समेतलाई वेवास्ता गरेर कानुन बनाएको भन्दै त्यसमा सचेत हुन आग्रह गरे।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सहयोगमा महासंघ लुम्बिनीले मंगलबार बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले स्थानीय सरकारले कानुन बनाउँदा विशेष चासाे दिन सुझाव दिए। उनले लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै कानुन बनाउन स्थानीय सरकारलाई प्रतिनिधिलाई अनुरोध गरे।
सोही अवसरमा नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष गोविन्द आचार्यले स्थानीय तहको सञ्चारसम्बन्धि कानुन निमार्ण गर्दा धेरै कुराहरुमा ध्यान पुराउनुपर्ने बताए ।
प्रतिसोधका आधारमा कानुन बनाउने कुरा निकै धातक भएको उनको तर्क छ । सो अवसरमा स्थानिय तहका जनप्रतिनिधिहरुले सञ्चारसम्बन्धि ऐन कानुनहरु निमार्णको चरणमा पुगेको भन्दै सरोकारवाला पक्षसँग बसेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपमेयर गुमादेवी आचार्य, सैनामैना नगरपालिकाका उपमेयर विना राना, पल्पाको तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ, रुपन्देहीको मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम पन्थी, कपिलवस्तुको विजयनगर गाउँपालिकाका अधिकृत हिमलाल पौडेल लगायतले बोल्दै कानुन निर्माणमा सञ्चारकर्मीको साथ रहेको बताए।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरीको अध्यक्षता, महासचिव विक्रम खड्काको सञ्चालनमा भएको कार्यक्रममा प्रदेश सदस्य मीना ढकाल, महासंघका कार्यक्रम प्रमुख हिरण्य जोशीलगायतले बोलेका थिए।