बुटवल-किरिया गरेको नौ दिनमा गुल्मीका एकजना पुरुष शनिबार जीवितै भेटिएका छन् । गुल्मी रुरु गाउँपालिका वडानम्बर ५ का श्यामचरण भण्डारी पाल्पाको रैनादेवी गाउँपालिकामा जीवितै भेटिएका छन् ।
श्यामचरण भण्डारी नौ दिनपछि जीवितै भेटिएको छिमेकी मोती पौडेलले जानकारी गराए । सामान्य बिरामी खालका श्यामचरण भण्डारी केही दिनअघि रुपन्देहीको मणिग्रामबाट हराएका थिए ।
उनी हराएपछि घरपरिवार र आफन्तले खोजतलास गरेका थिए । खोजी गर्ने काम भैरहेको अवस्थामा गुल्मी रुरुकै साघाट भन्ने ठाउंमा एकजना पुरुषको शव भेटिएको थियो।
नौ दिनअघि नाङ्गो अवस्थामा भेटिएको शवलाई स्थानीयले श्यामचरणको भएको किटानी गरेपछि अन्त्येष्टि गरी सामाजिक परम्पराअनुसार किरिया बसिएको श्यामचरणका छिमेकी मोती पौडेलको भनाइ छ ।
गुल्मी रुरु गाउँपालिका ५ बोटे गाउँका स्थायी वासिन्दा श्यामचरणको परिवार रुपन्देहीका मणिग्राममा बस्दै आएको बताइएको छ ।