बुटवल । दशैंमा बेच्न भनेर हुर्काएका खसी-बाख्रा चितुवाले एकै पटकमा २१ वटा मारिदिएपछि बर्दिया गुलरिया-५ का चन्द्रकान्त पौडेल खिन्न छन् । गएराति पौडेलको कृषि पशुपंक्षी तथा बाख्रा फर्मको खोरभित्र पसेर चितुवाले बाख्रा र खसी मारिदिएको छ । पौडेलका अनुसार चितुवाले सात वटा खसी, एउटा राजस्थानी बोका, सात वटा माउ बाख्रा र अन्य पाठापाठी गरी २१ वटा मारेको छ । अझै एउटा खसी हराएको छ । "एउटा पाठीमात्रै बाँचेको छ," उनले भने ।
पौडेलले एक महिना अगाडि मात्रै बाख्रालाई उक्त खोरमा सारेका थिए । खोरदेखि उनको घरको दूरी करिब तीन सय मिटर छ। २०/३० मिटर वरपर छिमेकीका घर रहे पनि कसैले पनि चितुवाभित्र प्रवेश गरी धमाधम बाख्रा मारेको कसैले पनि थाहा पाएनन् ।
पौडेलका अनुसार बाख्रा फार्ममा ढोकामा ताल्चा लगाएर गएका थिए। तर भेन्टिलेसनबाट चितुवा पसेको हुनसक्ने उनको अनुमान छ । उनका अनुसार करिब तीन लाख रुपैयाँ बराबरका खसीबाख्रा चितुवाले मारेको छ । "खसी बेचेरै दशैंको गर्जो टार्ने मेसो गरेको थिएँ । अब त सबै रित्तिसक्यो," उनले भने ।
फार्म नजिकै रहेको बाँधेर राखिएका दुई वटा गाई र त्यससँगै रहेका झन्डै डेढ सय जति लोकल कुखुराको खोरमा चितुवाले कुनै पनि असर गरेको छैन। ४/५ वर्षदेखि व्यवसायिक रूपमा बाख्रा पालन गर्दै आएका पौडेलले एक वर्ष पहिलेमात्रै फार्म दर्ता गरेको बताए।