गुल्मी–गुल्मीको धुर्कोट गाउँपालिका ५ वस्तुमा गाउँपालिकाकै सबैभन्दा अग्लो झोलुङ्गे पुल निर्माण भएको छ ।
वडा नं ५ वस्तुस्थित रानाचौर र ठाकुरडाँडा जोडने गरेर पुल निर्माण गरिएको हो । पुलको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले उद्घाटन गरे ।
पुलको एक सय दुई मिटर लम्बाई, एक सय छ सेन्टिमिटर चौडाई र ३६ मिटर उचाई रहेको छ । पुलको उचाई धेरै भएकोले यसलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना गाउँपालिकाले बनाएको छ ।
पुलको तलपट्टिको खोलामा ड्याम निर्माण गर्ने र पुलबाट विभिन्न शाहसिक खेलहरु संचालन गर्ने गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए ।
त्यसको लागि गाउँपालिकाले लागत अनुमानसहितको इस्टिमेट गर्ने तथा प्रदेश सरकारले आवश्यक पूर्वाधार निर्माण गरिदिने पोखरेलले बताए ।
सिर्जनशिल सामुदायिक विकास केन्द्रका प्रतिनिधी नरेश भण्डारीले पनि पुल बनेको स्थानलाई पर्यटकिय स्थलको रुपमा विकास गर्न सके स्थानीयलाई यात्रा मात्रै नभएर अर्थोपार्जनमा समेत टेवा पुग्ने बताए ।
स्थानीय खुसी
पुल ०७६ पुस महिनाबाट निर्माण थालिएको थियो । पाँच महिनामा पुल निर्माणको काम सम्पन्न भएको हो ।
पुल निर्माण भएसँगै धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक र ५ वस्तुका नागरिकलाई आवत–जावतमा सजिलो भएको छ । विद्यार्थीहरुलाई विद्यालय जान तथा स्थानीय नागरिकहरुलाई घाँस–दाउरादेखि अन्य दैनिक कार्यमा समेत पुलले सहजता ल्याएको छ । स्थानीय उषा पोखरेलले पुल बनेसँगै घाँस दाउरा गर्न र विभिन्न कामले वस्तुको बजारसम्म पुग्न सहज भएको प्रतिक्रिया दिइन् ।
पहिले–पहिले बालबच्चाहरु विद्यालय पठाउँदा खोला र जङ्गली जनावरहरुको डर हुने गरेको पोख्रेलले स्मरण गरिन्। स्थानीय बालकल्याण प्राथमिक विद्यालयकी प्रध्यानाध्यापक बिमला भण्डारीले पनि पुल निर्माण भएसँगै विद्यार्थीहरुलाई बिद्यालय आउ–जाउमा सहजता मिलेको भन्दै खुसी प्रकट गरिन् ।
साढे ३७ लाख बढीको लागत
पुल निर्माण भएपछि जैसिथोक र वस्तुका कुल दुई सय ११ घरधुरीका एक हजार दुई ६६ जना प्रत्यक्ष लाभाम्बित भएका छन् । झोलुङ्गे पुल कुल ३७ लाख ५५ हजार आठ सय १५ रुपैँया ८६ पैसाको लागतमा निर्माण भएको छ ।
संघिय सरकार, धुर्कोट गाउँपालिका र समुदायको साझेदारीमा निर्माण गरिएको पुलको सेवक नेपाल र सिर्जनशिल सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोग रहेको पुल निर्माण कार्यका प्राविधिक दयन्द्र राईले जानकारी दिए ।