दाङ–दाङमा बितेको छ महिनामा बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका ४३ वटा घटना भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०२० को जनवरीदेखि जुनसम्मको अवधीमा दाङमा २७ बलात्कार, १२ बलात्कार प्रयास र ४ यौन दुर्व्यवहारका घटना भएको तथ्याङक सार्वजनिक गरेको हो। जसमा ४६ जना पीडित भएका छन्।
लकडाउन अवधिमा पनि यौनजन्य घटनामा कमी नआएको इन्सेकले जनाएको छ। लकडाउनको अवधिमा मात्रै २९ वटा यौन दुर्व्यवहारका घटना भएका छन्। लकडाउनको अवधि गत चैत ११ देखि असार अन्तिमसम्म दाङमा २९ वटा बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका घटना भएको इन्सेक दाङ जिल्ला प्रतिनिधि जे.एन.सागरले जानकारी दिए।
इन्सेकका अनुसार यसवर्ष पनि यौनजन्य घटनामा कमी आउन सकेको छैन। अघिल्लो वर्षको पहिलो छ महिनामा ४२ वटा बलात्कार तथा बलात्कार प्रयास र यौन दुर्व्यवहारका घटना भएको इन्सेक प्रतिवेदनले जनाएको छ।
यसैगरी छ महिनाको अवधिमा हत्या १, बेवारिसे शव १, गैरकानुनी गिरफ्तारी १७, बन्द हड्ताल २, बालविवाह ३, आत्महत्या दुरुत्साहन २, सम्पति आगजनी ४, तोडफोड ३, उपभोक्ता अधिकार ३, कथित बोक्सीको आरोप १, घर निकाला १, जातीय भेदभाव १, धम्की/कुटपिट ९, दुर्व्यवहार ५, तालावन्दी १ र घरेलु हिंसाका २७ वटा घटना भएका छन्।
इन्सेकले छ महिनामा १ सय २४ वटा मानवअधिकार उल्लंघन तथा हननका घटना भएको जनाएको हो। साथै इन्सेकले उक्त घटनामा २ महिलासहित १४ जना पीडित भएका र राज्य पक्षबाट २१, ९२ वटा गैरराज्य र ११ वटा घटना अज्ञात पक्षबाट भएको उल्लेख गरेको छ।
अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले लकडाउनको अवधिमा दाङ कुल ६४ वटा मानवअधिकार हनन सम्वन्धि घटना भएको जनाएको छ।