दाङ–आज शुक्रबार २१ औं मुक्त कमैया दिवस मनाइदै छ। दाङ सहित पश्चिम नेपालका जिल्लामा विभिन्न कार्यक्रम गरेर दिवस मनाउन थालिएको छ । दाङको लमहीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिदै छ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो। वर्षौंसम्म मालिकका घरमा दास जसरी बसेकालाई मुक्त घोषणा गरिएपनि उनीहरुको गाँसबासको प्रवन्ध सरकारले नमिलाइदिँदा मुक्त कमैयाहरुले आन्दोलनको रुपमा मुक्ति दिवस मनाउँदै आएका छन् ।
खासगरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लामा कमैया प्रथा थियो । ती जिल्लाका मुक्त कमैयाहरुले अझैसम्म पनि पुनःस्थापना र व्यवस्थापन नभएको गुनासो गर्दै आएका छन् ।
मुक्त कमैया समाज दाङले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर दिवस मनाउन थालेको समाजका अध्यक्ष हरिचन्द्र चौधरीले जानकारी दिए । सरकारले कमैया मुक्तिको घोषणा गरेपनि अझैं मुक्त कमैयाहरुको पुर्नस्थापना हुन सकेको छैन। ऐलानी जग्गा, वन क्षेत्र, खोलाको किनारमा मुक्त कमैया बस्दै आएका छन् । जग्गाको लालपुर्जा प्राप्त हुन सकेको छैन।
दाङ जिल्लामा सरकारले परिचय पत्र उपलब्ध गराएको मुक्त कमैयाको संख्या एक हजार ४ सय २६ जना रहेको छ । अझैं धेरै कमैयाको लगत संकलन गर्न बाँकी छ । ३० जना मुक्त कमैयाकाे जग्गा सट्टा भर्ना गर्न बाँकी छ ।
भूमिसुधार कार्यालयमार्फत हरेक बर्ष मुक्त कमैया पुन:स्थापनाको लागि बजेट प्राप्त हुने गरेपनी त्यो बजेट प्रभावकारीरुपमा कार्यान्वयन हुन नसक्दा फिर्ता जाने गरेको छ । मुक्त कमैयाहरुकाे पुनर्स्थापना, छुट कमैयाकाे लगत संकलन गर्न अझै बाँकी रहेकाे कमैया महिला जागरण समाजका जिल्ला अध्यक्ष कमलापति चाैधरीले बताइन ।
`पुरुष कमैयाकाे बारेमा कुराहरु उठ्छ । तर, हामी महिला कमैयाकाे बारेमा कुनै सम्बाेधन भएकाे छैन´उनले भनिन्-`विना पैसा काम गरियाे । अहिलेसम्म कुनै सम्बाेधन र सुविधा छैन । एउटा परिचयपत्र समेत छैन ।´