बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा खुकुरी प्रहारबाट एक जना मजदूरको मृत्यु भएको छ। उक्त घटनामा अर्का एक जना घाइते भएका छन्।
वडा नं ३ वेतानीमा रहेको स-मिलमा काम गर्दै आएका पश्चिम नवलपरासीस्थित सुस्ताका अवधेश चमारको मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए।
सोही उद्योगमा कार्यरत भारतीय मजदूर रवि सिंहले खुकुरी प्रहार गरी गम्भीर घाइते भएका अवधेशलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
सिंहले खुकुरी प्रहार गरी घाइते बनाएका अवधेशका पिता गोपिचन्दको भने अस्लापतालमा उपचार भइरहेको छ ।
'एक आपसमा भएको विवादलाई लिएर एक्कासी खुकुरी प्रहार गरेको भन्ने कुरा आएको छ," प्रवक्ता थापाले भने,"खुकुरी प्रहार गर्नेले मापसे गरेको देखिएको छ।"
प्रहरी प्रवक्ता थापाका अनुसार खुकुरी प्रहार गर्ने रविलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।