बुटवल-संस्कृत एवम् नेपाली भाषा साहित्य विद्वान प्रा.डा. विष्णुराज आत्रेयको ७५ वर्षको उमेरमा शनिबार निधन भएको छ । उनी ‘लाटो साथी’को नामबाट व्यङ्ग्य लेखनका क्षेत्रमा पनि चर्चित थिए ।
नेपाली तथा संस्कृत भाषाका विविध विधामा कलम चलाउँदै आएका डा. आत्रेयका वैदेही महाकाव्य, सोमतीर्थ, सुपा देउरालीलगायत खण्डकाव्यहरूसँगै ‘हामीभित्रका म’ उपन्याससहित तीन दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् ।
प्रा.डा. आत्रेय संस्कृत भाषा साहित्यका ज्ञाता मात्रै नभई राजनीतिक र सामाजिक विषयमा चोटिलो व्यङ्ग्य लेखनमा पनि उत्तिक्कै सिपालु रहेको व्यङ्ग्यकार लक्ष्मण गाम्नागे बताउँछन्।
सिस्नोपानी नेपालका साधारण सदस्यसमेत रहेका हास्य व्यङग्यकार ‘लाटो साथी’सँग बेलाबखत भेट हुने गरेको बताउँदै उनको लेखनशैली परम्परागत भए पनि स्वादिलो हुने गरेको सिस्नोपानी नेपालका अध्यक्ष गाम्नागे बताउँछन्।