काठमाडौं। आजदेखि नेपालीहरुको महान चाड बडा दशैँ शुरु भएको छ। दशैँ अर्थात विजया दशमीको पहिलो दिन आज घरघरमा घटस्थापना गरेर शुरु हुँदैछ।
आज नेपालीहरुले घरघरमा जमरा राखेर दशैँको शुरुवात गर्दछन्। आज घटस्थापनको उत्तम साइत बिहान ११ बजेर ४६ मिनेटमा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले उक्त समयमा उत्तम साइत रहेको जनाएको छ।
घटस्थापनको दिन घरघरमा पूजाकोठा वा दशैँ घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरिन्छ। वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरेर पूजा शुरु गर्ने परम्परा रहेको छ।
घरघरका पूजा कोठामा आज गाईको गोबरले लिपपोत गरेर शुद्ध बनाई जौको जमरा राख्ने गरिन्छ। जौको पहेँलो जमरालाई समृद्धिको प्रतीकका रुपमा पनि लिइन्छ। यस्तै जमरा शक्तिकी देवी दुर्गाको प्रिय वस्तु पनि हो।
आज राखिएको जमरा नवरात्र सकिएपछि विजया दशमीको दिन टीकासँगै प्रसादको रुपमा लगाइने गरिन्छ। जमरामा जौसँगै घरमा रहेको अन्य अन्न पनि रोप्ने गरिन्छ।
नवरात्रको नौ दिनमा भिन्नभिन्न देवीहरुको विधिपूर्वक पूजा गर्ने प्रचलन छ। नौ दिनसम्म शक्तिका देवीहरुको पूजापछि दशौँ दिन विजया दशमीको टीका लगाउने गरिन्छ।
नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ। दुर्गाका यी नौ रुपलाई नवदुर्गा भन्ने गरिन्छ।
यसपटक टीकाको साइत विजया दशमीको दिन २९ असोज बिहान १० बजेर २ मिनेटमा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले उत्तम साइतको समयमा पूर्वतर्फ फर्किएर टीका लगाउनुपर्ने बताएको छ। देवी विसर्जनको साइत भने २९ असोज बिहान ८ बजेर १९ मिनेटमा रहेको छ।