बुटवल। रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रमा तनाब सिर्जना भएको छ। प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनाब सिर्जना भएको हो।
बिहान ५ बजेदेखि नै तैनाथ भएका प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीयसँग झडप भएको हो। झडपमा परी दुई जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
झडपमा प्रहरीले अत्यधीक बल प्रयोग दुई राउण्ड गोली चलाएको स्थानीयले आरोप लगाएका छन्। राती १ बजे घर घेराउ गरी स्थानीय ३१ बर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको पनि स्थानीयको आरोप छ।
बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदि उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो। प्रशासनले तीन दिनदेखि रातीमा टहराहरु भत्काइदिदैं आएको थियो। तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो।
जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गरेका थिए। आफूहरुले बर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा थाहै नदिई औद्योगिक क्षेत्रको नाममा लगेको भन्दै स्थानीय आक्रोशित थिए।