बुटवल-बुटवलबाट बग्ने ३६ मौजा सिंचाई प्रणालीको नहरमा तिलोत्तमा नगरपालिकाले जाली लगाएपछि बगाएर ल्याउने फोहोर नहरमै थुप्रिएको छ।
ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा भन्ने नाराका साथ सरसफाई अभियान थालेको तिलोत्तमाले कुलो तथा नहरमा बगेर आउने फोहर रोक्ने भन्दै सीमाक्षेत्र योगिकुटीमा जाली लगाएको थियो।
नहरमा फोहोर नफाल्न पटकपटक आग्रह गरेपनि वेवास्ता गरिएपछि सीमाक्षेत्रमै फलामे जाली लगाएर फोहोरलाई बुटवलतर्फ नै रोकिदिएको तिलोत्तमा नगरपालिकाले जनाएको छ।
तिलोत्तमाले किसानहरुको आग्रहमा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सीमामा पर्ने योगिकुटीमा गतवर्ष नै फलामे जाली लगाएको थियो।
नहर आसपासका व्यापारी तथा बासिन्दाले नहरमा फाल्ने प्लाष्टिकका झोला तथा बोत्तल, थर्मकोल, पुराना कपडा, अस्पतालजन्य फोहोरका कारण तिलोत्तमाका किसानहरुको खेत छपक्कै ढाकिने गरेको थियो।
नगरपालिकाले जाली राखेसंगै उक्त फोहर योगिकुटीमा आएर थुप्रिएको छ। तिलोत्तमाको सयौं विगाह क्षेत्रमा सिंचाईका लागि लगिने नहर छेउछाउका बासिन्दाले घरको ढलसँगै शौंचालयको निकाससमेत नहरमा मिसाउने गरेको पाइएपछि नगरपालिकाले उक्त उपाय निकालेको बताउँदै आएको छ।
बुटवल उपमहानगरपालिकाको वडा नं ३ को पुल्चोक कन्नेढुंगा हुंदै वडा नं ५, ७, ९ र ११ भएर २ वटा ठूला नहर तिलोत्तमाको खेतमा सिंचाईका लागि ल्याउने गरिएको छ । सोह्र र छत्तिस मौजा सिंचाई प्रणाली नामका ती दुई नहरबाट तिलोत्तामाको ६ हजार हेक्टर क्षेत्रफलमा सिंचाई हुंदै आएको सिंचाई प्रणालीका अध्यक्ष यज्ञ गैरेले बताए।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले नहर आसपासका बासिन्दाले फोहर फाल्ने गरेका कारण समस्या भएको बताए। उनले तिलोत्तमा नगरपालिकाले खुल्ला प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिसकेको उल्लेख गर्दै बुटवलका बासिन्दालाई फोहोर फाल्नबाट रोक्ने दायित्व बुटवल उपमहानगरपालिकाको रहेको बताए। बुटवल उपमहानगरपालिकाले भने जाली राखेर फोहर थुप्रिएको विषयमा मौन बस्दै आएको उनले बताए।