दाङ–दाङमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परि ७१ जनाले ज्यान गुमाएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले अघिल्लो वर्षको तुलनामा क्षति कम भएको जानकारी दिएको हो।
बितेको आर्थिक वर्षमा २ सय ५७ वटा सवारीका साधन दुर्घटना हुँदा ७१ जनाको मृत्यु भएको र ३ सय ४५ जना घाईते भएको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले जानकारी दिए। अघिल्लो आर्थिक बर्ष २०७५/७६ मा २ सय ५१ वटा सवारी साधन दुर्घटना हुदा एक सय ४ जनाको मृत्यु भएको थियो भने ४ सय २३ जना घाईते भएका थिए।
एक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने ३७ हजार ४ सय ६३ सवारीका साधनलाई प्रहरीले कार्वाही गर्दा २ करोड ३० लाख ७३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।
चालकको लापरबाही, यात्रुको कमजोरी, सडकको दुरावस्था, यान्त्रिक गडबडी र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना न्यूनीकरणमा समस्या भएको रेग्मीको भनाई छ।
मनलाग्दी पार्किङ गरे ह्वील लक
प्रहरीले अब मनलाग्दी पार्किङ गर्ने सवारीका साधनलाई ह्वील लक गर्ने जनाएको छ। मनलाग्दी पार्किङ गरेका गाडीको टायरलाई लक गर्ने उदेश्यले १० वटा ह्वील लकर ल्याएको ट्राफिक प्रहरी प्रमुख रेग्मीले बताए।
सवारी साधन दुर्घटना रोक्न र सवारी साधन तथा बजारको उचित व्यवस्थापन सबैको जिम्मेवारी भित्र पर्ने उनको भनाइ छ।