बुटवल–रुपन्देहीको तिलोत्तमामा रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यालयमा राष्ट्रिय जनमुक्ति पार्टीले तालाबन्दी गरेको छ।
आगामी अधिवेशनको लागि निर्वाचन मण्डल बनाउँदा नेकपा र कांग्रेसलाई मात्र समावेश गरेको भन्दै जनमुक्ति तिलोत्तमा नगर समितिले योगीकुटीमा रहेको खानेपानीको कार्यालयमा तालाबन्दी गरेको हो।
गत फागुनमा बसेको शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाको बोर्ड बैठकले निर्वाचन मण्डल गठन गर्दा समावेशी नबनाएको भन्दै जनमुक्तिले विरोध गर्दै आएको छ।
५ सदस्यीय निर्वाचन मण्डलमा महिला, जनजाति र मधेशी समुदायलाई प्रतिनिधित्व नगराइ राजनीति हावी गराएको जनमुक्ति तिलोत्तमाका नगर अध्यक्ष भोम बुढा मगरले बताए।
‘खानेपानीलाई सामाजिक संस्थाको रुपमा नै लानुपर्छ भन्ने राजनीति हावी हुन दिनुहुन्न भन्ने हाम्रो माग हो–उनले भने–सबै पक्षलाई समावेश नगरेर संविधान विपरितको काम गरिएको छ । यसलाई सच्याएर जानु पर्छ ।’
दलीय रुपमा जाने हो भने जनमुक्तिलाई पनि समावेश गर्नुपर्ने बुढाले बताए। तिलोत्तमाको नगर सभामा ५ सदस्य रहेकाले नगरमा आफ्नो पनि भूमिका रहेको उनको भनाइ छ। खानेपानी बोर्डले निर्वाचन मण्डल गठन गर्ने बित्तिकै जनमुक्तिको तर्फबाट बोर्डमा रहेका ३ जना सदस्यले असहमति जाहेर गरेका थिए।
खानेपानीका अध्यक्ष र तिलोत्तमा नगरपालिकाका मेयर समक्ष ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएपछि तालाबन्दी गरेको निर्णय नसच्याएर थप चरणबद्ध कार्यक्रम गर्ने जनमुक्तिको चेतावनी छ।
दलगत छैन, निर्वाचन समितिमा समावेशी आवश्यक छैन: अध्यक्ष
शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरि तिवारीले निर्वाचन समिति बनाउँदा दललाई नहेरीएको दाबी गरे।
‘उहाँहरुले आफ्नो दललाई समावेश गराउन भन्दै विरोध गर्नुभएको हो, हामीले दलगत गरेका छैनौ’–उनले भने–‘निर्वाचन समितिमा त चुनाव गराउन सक्ने सक्षम मान्छे पठाउने हो।’ तिवारीले जाति र समुदायगत समावेशी पनि निर्वाचन समितिमा नपर्ने उल्लेख गरे। ‘खानेपानी बोर्ड समावेशी हुनुपर्छ भनेर विधानमै व्यवस्था छ, हुन्छ पनि, तर निर्वाचन समितिमा समावेशी हुनुपर्छ भन्ने छैन।’