बुटवल–लुम्बिनी वाणिज्य क्याम्पस बुटवललाई रुपान्तरित गर्दै मानित विश्वविद्यालय बनाउने अभियानस्वरुप सरोकारवालासँग प्रतिबद्धतात्मक कार्यक्रम भएको छ।
रुपन्देहीमा रहेका विभिन्न संघसंस्था, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका, छिमेकी जिल्लामा रहेका नगरपालिका, गाउँपालिका, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न विद्यार्थी संघसंगठनहरुले क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा अगाडि बढाउन प्रदेश सरकार तयार रहेको बताए।
मन्त्री बरालले आफ्नो कार्यकालमा मानित विश्वविद्यालयको रुपमा सम्पन्न गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरे।
लुम्बिनी वाणिज्य क्याम्पस प्रदेशको मात्र नभई देशकै महत्वपूर्ण क्याम्पसको रुपमा रहेको उल्लेख गर्दै यहाँ अध्ययन गर्न आउने विपन्न र गरिब परिवारका विद्यार्थीले पनि पढ्नसक्ने खालको हुनुपर्ने उनले बताए।
मन्त्री बरालले विश्वविद्यालय सञ्चालन गर्न सहज नभएपनि क्याम्पसले देखाएको साहसले सञ्चालन गर्न सकिन्छ भन्ने विश्वास गर्न सकिने बताए।
कार्यक्रममा कलेजको अवस्थाको बारेमा क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले जानकारी गराएका थिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका कार्यबाहक प्रमुख गोमादेवी आचार्य, सिद्धार्थ नगरपालिकाका प्रमुख हरि अधिकारी, देवदह नगरपालिका प्रमुख हिराबहादुर केसी, उद्योगी-व्यवसायीहरु खेम हमाल, बाबुराम बोहोरा, यमलाल लोहनी, नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डे, नेकपाका यमराज पाण्डे, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल पाण्डे, प्राध्यापक भरत भुसालगायतले बोलेका थिए।