काठमाडौँ – देशभरको मौसम आइतबार सामान्यतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी वायु तथा मनसुनी न्यून चापीय रेखाको प्रभावका कारण बदली तथा वर्षा भएको हो। विगत केही दिनको तुलनामा मनसुन केही कमजोर भए पनि निष्क्रिय नरहेको मौसमविद शान्ति कँडेलले जानकारी दिएकी छन्।
पूर्वदेखि पश्चिमका विभिन्न स्थानमा दिउँसो र राति बदली तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताइन्। विगतका दिन भन्दा आइतबार पानीको मात्रा कम भए पनि सोमबारदेखि पुनः मौसम सक्रिय हुने उनले बताएकी छन्।
विशेष गरी सोमबार रातिदेखि मनसुन सक्रिय भइ देशभर मध्यमदेखी भारी वर्षा हुने र बिहीबारसम्मै सो क्रम जारी रहने उनले बताएकी छन्। देशभरका नदीमा पानीको बहाव बढ्ने, पहिरो तथा बाढीको जोखिम हुने भएकाले सचेत हुने पर्ने उनले उल्लेख गरेकी छन्।