बुटवल–रुपन्देहीमा सबैजसो यातायात व्यवसायीले बस सञ्चालन गरेका छन्। सरकारले लकडाउन खुला गरेसँगै व्यवसायीहरुले बस सञ्चालन गरेका हुन्।
मुलुकको सबैभन्दा ठूलो बस व्यवसायी संस्थामध्येको एक पश्चिम नेपाल बस व्यवसायी प्रालिले पनि आफ्ना गाडी सडकमा निकालेको छ।
सरकारले दुरी कायम गरी यात्रु राखेर, स्वास्थ्य सुरक्षाको व्यवस्था गरी ४० प्रतिशत बढी भाडा लिएर यातायात चलाउन अनुमति दिएपनि यातायात व्यवसायी महासंघ र यस क्षेत्रको पश्चिम नेपाल बस व्यवसायी प्रालिले आनाकानी गर्दै आएका थिए।
यद्यपि रुपन्देहीमा सरकारको अनुमतिसँगै लुम्बिनी मेट्रोसिटीले बस चलाएको थियो। गत बिहीबारदेखि यातायात व्यवसायी महासंघले आफ्ना बस सञ्चालन गर्ने निर्णय गरेपनि पश्चिम नेपालले ढिला गरी शनिबारबाट मात्र गाडी चलाएको हो।
अहिले बुटवलबाट भैरहवा, सालझण्डी र बर्दघाटसम्म गाडी सञ्चालन गरेको पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधि खरेलले बताए।
‘तालिका बनाएर तोकेका छैनौ, यात्रुको चाप र आवश्यकता अनुसार गाडीहरु चलेका छन्’–उनले भने–‘सरकारले तोकेको मापदण्डअनुसार दुई सिटमा एक जना राखेर चलाएका छौं।’
आसपासका अरु जिल्लाबाट पनि गाडी चलाउनुपर्ने माग
अध्यक्ष खरेलले जिल्लाभित्र मात्र नभइ आसपासका जिल्लाबाट पनि यातायात सञ्चालन गर्न पाउनुपर्ने माग सरकारसँग गरेको बताए। ‘यस बारेमा भौतिक पूर्वाधार विकास मन्त्रीसँग कुरा गरेका छौं–उनले भने–उहाँले १३ गतेसम्म केही निर्णय गछौं भन्नुभएको छ ।’
खरेलले बाहिरी जिल्लाबाट आउने यात्रुहरु महंगो भाडा तिरेर गाडी रिजर्ब गरेर आउनुपरेको भन्दै बस सञ्चालन भएमा यात्रुलाई पनि सहज हुने उनको भनाइ छ। ‘त्यसरी चलाउन दिए, सरकारले तोके अनुसार दुरी कायम राखेर चलाउन तयार छौं–खरेलले भने–काठमाडौमा ३ जिल्ला चलाउन दिइएको छ, संघीय राजधानी बाहिर अलग सोंच्न भएन नि।’