काठमाडौं–गुन्जी, कालापानी र लिम्पियाधुरा आफ्नो क्षेत्र दाबी गर्दै भारतले नेपाललाई पत्र पठाएको छ। भारतको धार्चुला प्रशासनले ती क्षेत्रमा नेपालीको अवैध प्रवेश भइरहेको र त्यसबारेमा जानकारी गराउन भन्दै जिल्ला प्रशासन कार्यलय दार्चुलालाई पत्र पठाएको हो ।
भारतले जुलाई १४ मा पठाएको पत्रमा विभिन्न नेपाली समूह अवैध रुपमा लुकीछिपी सीमा पार गरेर आउन चाहेकोले त्यसबारे जानकारी गराउन नेपाललाई भनेको छ। तर आफ्नो भूभागमा गएकोबारे अर्को देशलाई जवाफ दिइरहन नपर्ने दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए।
सुरक्षाका लागि व्यास गाउँपालिका १ गाँगामा २५ जना सुरक्षाकर्मीसहितको बीओपी स्थापना भएको र अरु ठाउँमा पनि स्थापनाको तयारी भएको उनले बताए।
उनका अनुसार तिङ्कर भञ्ज्याङमा बीओपी स्थापनाका लागि जग्गा पहिचान भएर टेण्डर प्रक्रिया सुरु भइसकेको छ भने माथिल्लो पौवामा जग्गा पहिचान गर्न सम्बन्धित पालिकालाई निर्देशन दिइएको छ।
नेपाल सरकारले लिम्पियाधुरासहितको क्षेत्र नेपालको नक्शामा समेटेर प्रकाशित गरेपछि भारतीय पक्षले त्यसको विरोध गर्दै आएका छन्।