वीरगञ्ज-पर्सामा सुरक्षाकर्मी, महिला, सञ्चारकर्मी र एक भारतीय सहित ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
नारायणी अस्पतालको पीसीआर ल्यावले आज सोमबार उपलब्ध गराएको रेकर्ड अनुसार संक्रमित मध्ये जिल्ला प्रहरी कार्यालय पर्सामा २ जना, श्रीपुर वडा प्रहरी कार्यालयमा कार्यरत एकजना र नेपाली सेनामा कार्यरत १ जनासहित ७३ जना संक्रमित थपिएका हुन्।
पछिल्लो समय टोल टोलमा परीक्षणको दायरा बढाएपछि समुदायमा रहेका संक्रमितहरू फेला पर्न थालेको नारायणी अस्पतालका चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिए।
नयाँ संक्रमित मध्ये सबैभन्दा धेरै वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ४१ जना रहेका छन्। जसमध्ये ८ जना महिलासहित ७७ वर्षसम्मका वृद्ध रहेका छन्।
आज फेला परेका कोरोना पोजेटिभ साउन ८ गते र १२ देखि १६ गतेसम्म नारायणी अस्पताल तथा श्रीपुर उच्च माविमा संकलन गरिएको स्वाब परीक्षण मध्यका रहेको नारायणी पिसिआर ल्याबले जनाएको छ।
वीरगञ्ज महानगरमा वडा नम्बर ६ मेनरोड, लोहारपट्टि, वडा नम्बर ८ गहवामा सबैभन्दा धेरै संक्रमित फेला परेकोमा दुई दिनयता श्रीपुरमा समेत धेरैजसो संक्रमित थपिएका छन्।