काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको संरक्षणको लागि घरपरिवारदेखि राज्यतहसम्मका सबै संयन्त्र र संरचना सक्रिय र सहयोगी रहनुपर्ने उल्लेख गर्नुभएको छ ।
३२औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देशमार्फत उहाँले ज्येष्ठ नागरिकलाई सदैव स्नेह र सद्भाव प्रकट गर्न, उनीहरूमाथि कुनै पनि किसिमको दुर्व्यवहारको घटना घट्न नदिन र उच्च प्राथमिकताका साथ राज्यका तर्फबाट सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उनीहरूलाई पहिलो प्राथमिकता दिई उच्च सम्मान दर्शाउन सबै प्रतिबद्ध हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
“यसको लागि म सम्बद्ध सबै निकायलाई निर्देशन दिन चाहन्छु । परापूर्वकालदेखि हाम्रो सामाजिक–सांस्कृतिक परम्परामा चलिआएको ज्येष्ठ नागरिकलाई आदर र सम्मान गर्ने परम्परालाई अक्षुण्ण राख्दै यो ज्ञान नयाँ पुस्तासमेतमा हस्तान्तरण गर्न आवश्यक छ”, प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष १ अक्टोबरको दिनलाई विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको छ । यस वर्ष “परिवर्तनशील विश्वमा ज्येष्ठ नागरिकप्रति लचिलोपन” भन्ने अन्तर्राष्ट्रिय नारा र “ज्येष्ठ नागरिकको उत्थानशीलताः बदलिँदो विश्वको लागि अपरिहार्यता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । प्रधानमन्त्री देउवाले दिवसका अवसरमा विभिन्न ज्ञान, सीप र अनुभव सँगाल्नुभएका सम्पूर्ण ज्येष्ठ नागरिकमा बधाई तथा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, सुस्वास्थ्य र खुसीयालीपूर्ण दीर्घजीवनको कामना गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरे पश्चात् सन् १९९१ देखि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै आइएको छ । यो दिवस ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्ने, उनीहरूले देश, समाजको परिवर्तन, विकासका लागि गर्नुभएको योगदानको स्मरण गर्ने, समाजमा ज्येष्ठ नागरिकलाई सुरक्षित र सम्मानपूर्ण जीवनयापन गर्ने वातावरण सुनिश्चित गर्न सबैले प्रतिबद्धता जाहेर गर्ने दिन भएको उहाँले उल्लेख गर्नुभएको छ ।