काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादशैं, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।
राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा बडादशैं पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको हो।
सन्देशमा भनिएको छ, “यस प्रकारका चाडपर्वहरूको माध्यमबाट विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बीचमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु।”
वर्षा ऋतुको अन्त्य र शरद ऋतुको सुरुवातसँगै मनाइने बडादशैं पर्वको धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक आयामहरू रहेका छन्।
“घरको लिपपोत र बाटोघाटो सरसफाइ गर्ने, लिङ्गे पिङ–रोटे पिङ खेल्ने, मान्यजनबाट टीका लगाउने र आफन्त भेटघाटका लागि माइत मावली जाने गरिन्छ” सन्देशमा भनिएको छ, “बडादशैंको अवसरमा गरिने रमाइला सामाजिक सांस्कृतिक क्रियाकलापहरू आम नेपालीको मन मस्तिष्कमा सुखद् स्मृतिका रूपमा अमिट भएर बसेका हुन्छन्, तसर्थ बडादशैं नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्वपूर्ण कडीको रूपमा रहेको छ भन्ने मलाई लाग्दछ।”
नेपालीहरूको सबैभन्दा ठूलो चाडका रूपमा रहेको बडा दशैं आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशमीका दिन प्रसाद स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेष रूपमा मनाउने गरिन्छ। यसैबीच
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउनुभएको छ।
नेपालीहरूको महान् चाड बडादशैं २०७९ को अवसरमा देश विदेशमा रहनु भएका नेपालीहरूमा शुभकामना दिनुहुँदै उहाँले सरकारको यो प्रयासमा सबै राजनीतिक दल, आम नागरिक सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभएको छ। आवधिक निर्वाचनले लोकतन्त्रलाई बलियाे, सक्षम र सबल बनाउने उहाँको भनाइ छ।
प्रधानमन्त्री देउवाले ताजा निर्वाचनबाट सरकार गठन भएपछि संविधानमा उल्लेख भएका नीति तथा कार्यक्रमहरू थप प्रभावकारी ढङ्गले कार्यान्वयन भई मुलुकमा जनताको चाहना र अपेक्षा बमोजिम विकास र समृद्धिका कार्यहरूले गति लिने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ। प्रधानमन्त्री देउवाले चाडपर्व समाजका अमूल्य सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै धार्मिक सांस्कृतिक चाडपर्वहरूले हाम्रो समाजलाई गतिशील, जीवन्त र एकताबद्ध बनाउने बताउनुभएको छ।