बुटवल । बडादसैंको अवसरमा बुटवलमा सराय नाच प्रदर्शन गरिएको छ । बुटवल उपमहानगरपालिका –१३ जितगढीमा आज सराय नाच प्रदर्शन गरिएको हो ।
गुल्मी, अर्घाखाँची, पाल्पा र प्युठानमा प्रसिद्ध सराय नाच छैँठौपटक जितगढीको दुर्गामन्दिर परिसरमा देखाइएको हो । टीकाकै दिनदेखि पहाडी जिल्लाका शक्तिपीठ तथा कोटहरूमा सराय नाच्ने परम्परा छ ।

संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गुल्मी र अर्घाखाँचीबाट बसाइँ सरेर बुटवलमा झरेकाहरूले सरायँ नाच देखाउने परम्पराको थालनी गरेका हुन् । जितगढी सराय व्यवस्थापन समितिले आठ वर्षअघि देखि सुरु गरेको सरायँ नाचलाई यो वर्ष पनि निरन्तरता दिएको ब्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । गएका दुई वर्ष कोरोनाका कारण सराय नाच प्रभावित भएको थियो ।
अर्घाखाँचीको अर्घा सराय नाचका लागि बढी प्रसिद्ध छ । गुल्मीको इम्मासहितका हरेक कोटहरूमा दसैंैदेखि कोजाग्रत पूर्णिमासम्म यो नाच चलिरहन्छ । लोप हुन लागेको संस्कृति बचाउनका लागि बुटवलमा दसैंपछि दुई पटक सरायँ हुने गरेको छ । दसैंको पूर्णिमाको अघिल्लो दिन जितगढी र कोजाग्रत पूर्णिमाको दिन देवीनगरमा सराय नाच हुँदै आएको छ ।
गुल्मी,अर्घाखांची र पाल्पामा प्रसिद्ध यो नाच जगेर्ना गर्ने उद्देश्यले ८ वर्षदेखि यहाँ देखाउन थालिएकामा अहिले स्थानीयको उत्साहजनक सहभागिता देखिन थालेको समितिका सचिव पिताम्वर भण्डारीले बताउनुभयो ।

विजय उत्सवसँग जोडिएको यो नाचमा हतियार प्रदर्शन गरेर वाख्खै हो...को तालमा नाच्ने गरिन्छ । सरायं नाच विजयउत्सव संग जोडिएकाले यसलाई वीरताको गाथा बोकेको जितगढीमा आयोजना गर्न थालिएको संस्कृति संरक्षणका अभियान्ता ऋषि आजादले बताउनुभयो ।