भैरहवा । सरकारले बैंक तथा वित्तीय संस्थाले थेग्नै नसक्ने गरी ब्याजदर बढाउंदा पनि कुनै कदम लचालेको भन्दै रुपन्देहीका उद्योगी ब्यवसायीले प्रदर्शन गरेका छन् । आज दिउसो भैरहवामा प्रदर्शनपछि उनीहरुले नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
ब्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाहरुद्वारा हाल कायम गरिरहेका उच्चतम ब्याजदर तथा विभिन्न सेवाशुल्कहरु तत्काल पुनरावलोकन गर्न र चालुपूँजी कर्जा निर्देशिका खारेज गर्न माग राख्दै नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । रुपन्देहीमा क्रियाशिल रुपन्देही उद्योग संघ, रुपन्देही ब्यपार संघ, बुटवल उद्योग बाणिज्य संघ, सिद्धार्थ उद्योग बाणिज्य संघ, उद्योग ब्यपार संगठन रुपन्देही लगायत ५० वटा संघ संस्थाहरुले सञ्जाल गठन गरि बिरोध गरेका छन् ।
३ वर्षदेखि कोभिड १९ को प्रभावले उद्योग व्यवसाय क्षेत्र तहस नहस भएको र कोभिडको प्रभावबाट उम्कन नपाउँदै सरकारले बैंक तथा वित्तिय संस्थाहरुमार्फत ब्यवसायीमाथि अत्याचार गरेको उनीहरुको आरोप छ ।
“लामो समयको प्रभावबाट उद्योगहरुलाई बचाईराख्न हामीले सरल कर्जा प्रवाह र सहुलियत ब्याजदर कायम गरिनु पर्दछ भनेर पटक पटक आवाज उठाउँदै आएका छौ ।” सञ्जालका संयोजक माधव प्रसाद पौडेलले भन्नुभयो । तर राज्यले वैंकहरुमार्फत उद्योगी व्यवसायीहरुमाथि प्रहार गर्न थालेको उहांको आरोप छ ।
उद्योगी व्यवसायीहरुको विरोधका बाबजूद एकलौटी ढंगबाट निजी क्षेत्र प्रभावित हुनेगरी कदम चाल्न खोजिए व्यवसायिक संघसंस्थाहरु आ–आफ्ना कारोबारहरु बन्द गरी चरणवद्ध रुपमा आन्दोलनमा जाने ब्यवसायीहरुले चेतावनी दिएका छन् ।
समग्र उद्योगी व्यवसायीहरुको मागलाई तत्काल सम्बोधनका लागि कर्जाको ब्याजदर एकल अंकमा कायम गर्न ब्यवसायीहरुले नेपाल राष्ट्रबैंकसँग माग राखेका छन् ।
ज्ञापन पत्र बुझ्दै नेपाल राष्ट्र बैक भैरहवाकी प्रमुख रञ्जना पण्डित (पौडेल) ले देशमा बिद्यमान देशमा मुद्राको सिर्जना गर्न सक्ने क्षमताको कमि भएको कारणले तरलतामा समस्या आएको र त्यसले गर्दा लगानी गर्ने साधनमा कमि आएको बताउनुभयो । उहांले देशको यो समस्या उद्योगी ब्यवसायीले पनि बुझिदिन आग्रह गर्नुभयो ।