विराटनगर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनप्रति शङ्का उपशङ्का नगर्न आग्रह गर्नुभएको छ ।
विराटनगरमा आज आयोजित लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त भेलामा उहाँले समावेशी संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धन जनता र मुलुकको हितका लागि भएको प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्री देउवाले नेपाली काँग्रेस र नेकपा माओवादीबिच भएको विस्तृत शान्ति सम्झौता र १२ बुँदे सम्झौताका कारण मुलुकमा स्थायी शान्ति तथा गणतन्त्र स्थापना भएको स्मरण गर्दै वर्तमान गठबन्धन त्यसैको निरन्तरता भएको बताउनुभयो ।
उहाँले नेपाली काँग्रेस पार्टीभित्र कुनै विवाद नरहेको र अहिले पार्टी एकताबद्ध भएर अघि बढिरहेको उल्लेख गर्दै मङ्सिर ४ गते हुने निर्वाचनलाई सफल बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
उहाँले विराटनगर बिपी र गिरिजा प्रसाद कोइरालाको भूमि भएकाले यस क्षेत्रका जनताप्रति आफ्नो सदैव सम्मान रहने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सहभागी दलका नेताहरूबिच केही समस्या भए तिनलाई थाती राखेर एकताबद्ध भई निर्वाचनको महासङ्ग्राममा लाग्न सबैलाई आग्रह गर्नुभयो ।