काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्न सत्ता गठबन्धनले पैसाको खोलो बगाएको आरोप लगाउनुभएको छ । शनिबार एमाले ललितपुरले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले चुनाव जितेर सत्तामा पुग्न गठबन्धनले पैसाको खोला बगाएको बताउनुभएको हो ।
सत्ता स्वार्थका लागि गठबन्धन दलहरू देश बेच्न पनि तयार रहेको उहांले बताउनुभयो । ‘सत्ता गठबन्धनको ध्यान सत्तामा मात्रै केन्द्रित छ, चुनाव जित्न पैसाको खोलो बगाएका छन्। सत्ता स्वार्थका लागि देश बेच्न पनि तयार हुनेछन्,’ ओलीले भन्नुभयो ।
उहांले मतदातालाई भोट खसाउन नदिनेलगायतका षडयन्त्र भइरहेको जिकिर गर्दै देशलाई भीडन्ततर्फ लग्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो । वर्तमान सरकारका कारण मुलुकमा महँगी, भ्रष्टाचार, अनियमितता बढेको उहांको दावी छ । भुटानी शरणार्थीसँग लाखौं रूपैयाँ लिएर विदेश उडाउने धन्धासमेत भइरहेको ओलीले दाबी गर्नुभयो ।