बुटवल। नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले पत्रकारिता शुद्धिकरणको अभियान सुरु गर्नु पर्ने बताउनुभएको छ ।
शुद्धिकरणको माध्यमबाट पत्रकार महासंघलाई श्रमजीवि पत्रकारहरुको संस्थाका रुपमा मात्रै चिनाउनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ रुपन्देहीको ११ औँ साधारणसभामा बोल्दै अध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्रबाट विस्थापित भइसकेका र पलायन भएका र पत्रकारिता छाडेर अन्य पेशामा गइसकेकाहरुलाई विदाई गर्नुपर्ने बताउनुभयो ।
‘सदस्य शुद्धिकरणका सन्र्दभमा पनि शाखाले महत्वपूर्ण निर्णय लिन जरुरी छ । त्यसका लागि साधारणससभा रणनीति तय गर्ने महत्वपूर्ण आधार हुन सक्छ भन्नुभयो । यसैबीच रुपन्देहीमा कार्यरत ९ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले विभिन्न संस्थासंगको सहकार्यमा वितरण गर्दै आएको तीन विधाका पत्रकारिता पुरस्कार आइतबार महासंघ रुपन्देहीको ११ औं साधारण सभामा उनीहरुलाई पुरस्कृत गरिएको हो ।
बुटवल उपमहानगरपालिकाद्वारा स्थापित उत्कृष्ट पत्रकारीता पुस्कार २०७५ बाट यानेन्द्र जिसी, २०७६ बाट रामप्रसाद आचार्य, २०७७ बाट रेखा भुसाल पुरस्कृत भएका हुन् ।
सिद्धार्थनगर नगरपालिकाद्वारा स्थापित उत्कृष्ट श्रमजिवि पत्रकारीता पुरस्कार नरेश केसी, प्रकाश न्यौपाने र प्रतीक पौडेल पुरस्कृत भए ।
बुटवल पब्लिकेशनद्वारा स्थापित उत्कृष्ट शैक्षिक पत्रकारीता पुस्कारबाट कपिल ज्ञावली, पुजा पन्थी र चन्द्रकान्त खनाल पुरस्कृत भए । कोरोनाका कारण दुई वर्षको पुरस्कार वितरण रोकिएको थियो ।